सुचना, समाचार र मनोरन्जन

प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा समावेश मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक

काठमाडौं :

बुधबारबाट प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा समावेश मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ। निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ।

कुमार कट्टेलको निर्देशन रहेको फिल्मको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ। गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ। भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ।

गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ। चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ। ‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ।

यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ ।

फिल्म हेर्ने दर्शकका लागि महेश त्रिपाठी र रेणु योगीको अभिनय विशेष आकर्षण बनेको छ। कर्णालीको प्राकृतिक सौन्दर्य तथा पात्रहरूको गहिरो अभिनयले दर्शकको मन जित्न सफल भएको देखिन्छ। लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

साथै फिल्ममा अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू,प्रियाना आचार्य लगायतका कलाकारहरूले पनि फिल्ममा महत्त्वपूर्ण भूमिका निभाएका छन्। जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह(निर्माताको रूपमा रहेका छन्। ‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिन नै प्रभावशाली व्यापार गरेको छ। वितरकका अनुसार, पहिलो दिन मात्र फिल्मले १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षको दाबी छ।

Leave A Reply

Your email address will not be published.