काठमाडौं :
यौनकर्मी महिलाहरूको मानवअधिकार र न्यायको सवाल उठाउँदै संस्था आस्था-फेथले बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको छ। संस्थाकी कार्यकारी प्रमुख रिना लामाले सार्वजनिक गरेको उक्त पत्रमा लाखौं यौनकर्मी महिलाहरूले हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्कार झेलिरहेको उल्लेख गरिएको छ। उनीहरूको अनुभव नीतिगत बहसमा समेटिन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
आस्था-फेथले करिब तीन हजार यौनकर्मीका अनुभवका आधारमा तयार गरेको फिल्म लालिमा हाल प्रदर्शनमा छ। लामा अनुसार फिल्म केवल कथा नभई यौनकर्मीहरूको सामूहिक आवाज र वास्तविकताको दस्तावेज हो।
पत्रमा यौनकर्मीहरू दैनिक रूपमा विभेद र आधारभूत अधिकारबाट वञ्चित हुने गरेको उल्लेख गर्दै राज्यले उनीहरूलाई मानवका रूपमा सम्मान र सुरक्षा दिनुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, नीतिगत सुधारमार्फत उनीहरूको उत्थान गर्न आग्रह गरिएको छ।
बालेनलाई सम्बोधन गरिएको उक्त पत्रमार्फत संवादको पहल गर्न निम्तो दिइएको छ। समावेशी राष्ट्र निर्माणका लागि सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्नु आवश्यक रहेको लामा बताउँछिन्। उनका अनुसार, यो पहलले सामाजिक सुधार र मानवअधिकारको क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने विश्वास लिइएको छ।