सुचना, समाचार र मनोरन्जन

५० वर्षको सेवायात्रा उत्सवमा बदल्दै लायन्स क्लब अफ पोखरा, मङ्सिर ५ मा स्वर्ण महोत्सव

पोखरा,

पाँच दशकदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको लायन्स क्लब अफ पोखरा आफ्नो ५० वर्षे गौरवपूर्ण यात्रा विशेष कार्यक्रमका साथ मनाउने तयारीमा जुटेको छ। क्लबले आगामी मङ्सिर ५ गते पोखरा इभेन्ट सेन्टरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्दै आधा शताब्दीको सेवायात्रालाई उत्सवका रूपमा मनाउने भएको हो।

वि.सं. २०३३ साल कात्तिक २५ गते (१० नोभेम्बर १९७६) पोखराका समाजसेवी, व्यवसायी र बुद्धिजीवीहरूको पहलमा स्थापित क्लब नेपालमा लायन्स अभियानको अग्रणी संस्थामध्ये एक मानिन्छ। स्थापनादेखि हालसम्म क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, छात्रवृत्ति, विपद् व्यवस्थापन र मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

क्लबका अनुसार स्वर्ण महोत्सव केवल वार्षिकोत्सवको औपचारिक कार्यक्रम होइन, ‘सेवा, समर्पण र नेतृत्व’ को पाँच दशक लामो यात्राको उत्सव हो। यस अवसरमा संस्थापक सदस्य तथा अग्रज लायन्सहरूको सम्मान, पाँच दशकको इतिहास समेटिएको स्मारिका प्रकाशन, सांस्कृतिक कार्यक्रम, सामाजिक सेवासम्बन्धी विशेष अभियान तथा विशिष्ट व्यक्तित्वहरूको सहभागितासहित विविध कार्यक्रम समावेश गरिनेछ।

कार्यक्रमलाई व्यवस्थित बनाउन मूल समारोह समिति, आयोजक समिति तथा वित्त, स्मारिका, अतिथि सत्कार, स्वास्थ्य, आवास–यातायात, सांस्कृतिक कार्यक्रम, सम्मान, हेल्प डेस्कलगायत विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारीलाई तीव्र बनाइएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष डा. माधव तिवारी ले स्वर्ण महोत्सव विगतको योगदानको समीक्षा मात्र नभई आगामी पुस्तालाई सेवाभाव र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले सम्पूर्ण लायन्स सदस्य, पूर्वअध्यक्ष, शुभेच्छुक, सामाजिक अभियन्ता तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई ऐतिहासिक क्षणको साक्षी बन्न आग्रह गर्नुभएको छ।

पाँच दशकदेखि “We Serve” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि काम गर्दै आएको लायन्स क्लब अफ पोखराको यो स्वर्ण महोत्सवले सेवा संस्कृतिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। साथै, पोखराको सामाजिक इतिहासमा पनि यो कार्यक्रम एउटा महत्वपूर्ण उपलब्धिका रूपमा दर्ज हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.