पोखरा,
लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सवको अवसरमा भोलि मंसिर ४ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
पोखरा इभेन्ट सेन्टरमा बिहान ८ बजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न क्लबले सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरेको छ ।

क्लबका संयोजक सुशील श्रेष्ठले रक्तदान जीवनदानसरह पुण्यको काम भएकाले कार्यक्रममा सहभागी भई रक्तदान गर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले मंसिर ५ गते आयोजना हुने स्वर्ण महोत्सवको तयारीसमेत अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
सन् १९७६ अर्थात् वि.सं. २०३३ सालमा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो । क्लबले पाँच दशकदेखि शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सामाजिक योगदान पुर्याउँदै आएको छ ।
मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा हुने स्वर्ण महोत्सव समारोहमा क्लबका संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने अग्रजहरूलाई सम्मान गरिनेछ । साथै, क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा र उपलब्धि समेटिएको स्वर्ण महोत्सव स्मारिका विमोचन गर्ने कार्यक्रमसमेत रहेको छ ।
क्लबका अध्यक्ष डा. माधव तिवारीले स्वर्ण महोत्सव विगतको योगदान स्मरण गर्नुका साथै आगामी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने अवसर भएको बताउनुभएको छ ।