Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ९ करोड कमाउँदै ब्लकबस्टर, आर्थिक वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म
- लक्ष्मी गिरी अभिनित ‘भागदौड’ असार २६ मा प्रदर्शन हुने, अनिशा श्रेष्ठ र घनश्याम जोशी मुख्य कलाकार
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन सम्पन्न, ५८ बालबालिका फाइनलका लागि छनोट
- शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
- भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन, ३९६ सिटको क्षमता
- मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’असाजमा,नारायण त्रिपाठीको दुई दशकपछि कमब्याक
- नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
- मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल
- पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश
- हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
काठमाडौँ,
देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ । उहाँले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिनुभयो ।
लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू—कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही—मा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ । त्यस्तै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ ।
तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।