काठमाडौं,
हरियो र स्वच्छ घर कसलाई मन पर्दैन र? तर, बिरुवाका लागि आवश्यक माटो, मलजल र दिनहुँको हेरचाहको झन्झटले गर्दा धेरै मानिसहरू घरभित्र बिरुवा राख्न हिचकिचाउँछन्। यदि तपाईं पनि यही कारणले बिरुवा रोप्न डराउनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्।
वास्तु शास्त्रमा यस्ता पाँच विशेष बिरुवाहरूको चर्चा गरिएको छ, जसलाई हुर्काउन न माटो चाहिन्छ, न त चर्को घाम नै। यी बिरुवाहरू केवल एउटा गिलासको भाँडो र थोरै पानीको सहारामा सजिलै हुर्कन्छन्। यिनीहरूले घरको सुन्दरता मात्र बढाउँदैनन्, वास्तु अनुसार परिवारमा सुख, शान्ति र समृद्धि समेत भित्र्याउने विश्वास गरिन्छ।
आउनुहोस्, जानौं ती ५ भाग्यशाली बिरुवाहरूको बारेमाः
१. लकी बैम्बूः लकी बैम्बूलाई सकारात्मक ऊर्जाको प्रमुख स्रोत मानिन्छ। यसलाई एउटा सानो काँचको कचौरा वा गिलासमा केही सफा ढुङ्गा (कंकड) र पानी राखेर सजिलै सजाउन सकिन्छ। वास्तु शास्त्रका अनुसार यो बिरुवा जति राम्रोसँग फस्टाउँछ, घरमा त्यति नै आर्थिक प्रगति र समृद्धि छाउँछ।
२. मनी प्लान्टः घर–घरमा चर्चित ‘मनी प्लान्ट’ धन र सौभाग्यको प्रतीक हो। यसको नामले नै यसको विशेषता झल्काउँछ। यसलाई माटोमा भन्दा पनि पानी भरिएको काँचको बोतलमा राख्नु बढी शुभ मानिन्छ। विश्वास गरिन्छ कि यो बिरुवा घरमा रहँदा धनको कहिल्यै अभाव हुँदैन।
३. पीस लिलीः आफ्ना सेता र मनमोहक फूलहरूका लागि चिनिने यो बिरुवाले घरको वातावरणलाई शुद्ध राख्नुका साथै मानसिक शान्ति प्रदान गर्दछ। यसलाई पानीमा राखेर झ्यालको छेउमा सजाउन सकिन्छ। यसले परिवारका सदस्यहरूबीच सद्भाव कायम राख्न मद्दत गर्दछ।
४. स्पाइडर प्लांट स्माकुराको खुट्टा जस्तै लामा पात हुने यो बिरुवा हेर्दा निकै आकर्षक देखिन्छ। वास्तु अनुसार यसले घरभित्रको नकारात्मक ऊर्जालाई सोसेर सकारात्मकता फैलाउँछ। यो बिरुवा पानीमा पनि निकै छिटो र सजिलै बढ्ने गर्दछ।
५. स्नेक प्लांटः सामान्यतया यो बिरुवा माटोमा रोपिन्छ, तर यसका पातका काँटाहरूलाई पानीमा राखेर पनि सजिलै जीवित राख्न सकिन्छ। यसलाई सुरक्षा र स्थिरताको प्रतीक मानिन्छ। यसले रातको समयमा पनि अक्सिजन छोड्ने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि यो अति उत्तम छ।
विशेष ध्यान दिनुपर्ने कुराहरू
यदि तपाईं यी बिरुवाहरू पानीमा रोप्दै हुनुहुन्छ भने निम्न कुराहरू पालना गर्दा वास्तु दोष हट्ने र बिरुवा स्वस्थ रहनेछस्
पानीको परिवर्तनल् बिरुवाको उचित वृद्धिका लागि हप्तामा कम्तिमा एक पटक भाँडोको पानी अनिवार्य रूपमा परिवर्तन गर्नुहोस्।
सटीक दिशाः वास्तुका अनुसार यी भाग्यशाली बिरुवाहरूलाई सधैं घरको उत्तर वा पूर्व दिशामा राख्नु शुभ मानिन्छ।
काँचको भाँडोः सकभर बिरुवाहरूलाई पारदर्शी काँचको भाँडोमा राख्नुहोस्। यसले गर्दा जराहरू स्पष्ट देखिन्छन्, जसलाई वास्तुमा शुभ र ऊर्जा प्रदायक मानिन्छ।