काठमाडौं :
बलिराम चौहानको निर्देशनमा फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्तसँगै सुटिङ थालिएको छ। निर्माण टिमले मंगलबार ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गर्दै आजबाट सुटिङ थालेको हो। उक्त कार्यक्रममा निर्देशक चौहान निर्माता भोलानाथ कटुवालसहित सवैजसो मुख्य कलाकार उपस्थित थिए ।
काठमाडौंको लाजिम्पाटदेखि नै छायांकन सुरु गर्ने निर्देशक चौहानले बताए। उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ। यो फिल्मको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ। स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’ र एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् ।

फिल्मले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढाव प्रस्तुत गर्ने निर्देशक चौहानले बताए। ‘सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ’, उनले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं ।’
कथाअनुसार फिल्मको स्लोगन पनि युवाकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ। फिल्मको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन्। स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा कटुवालको लगानीमा बन्नेछ। सिनेमामा रवी रोक्काको छायांकन,अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत, महेश मगर प्रोडक्सन म्यानेजर, रेलिजाश्रेष्ठ प्रोडक्सन डिजाइनर, साश्वत श्रेष्ठको बिजिएम र मित्र डी गुरुङको सम्पादन रहनेछ।