काठमाडौं :
आगामी अगस्ट २२ (भदौ ६) देखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियामा २५ हलमा सयभन्दा बढी शोसहित रिलिज हुने भएको छ।
चलचित्रको अष्ट्रेलियास्थित प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टका अनुसार सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड, पर्थ लगायत सहरका हलमा चलचित्र प्रदर्शन हुनेछ। बुकिङ खुला भइसकेको र सुरुको चरणमै उत्साहजनक प्रतिक्रिया आएको थ्रिकेजीका गोविन्द भण्डारीले जानकारी दिए।
दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको उच्च हाइप र सम्भावनालाई मध्यनजर गर्दै पर्याप्त शोसहित रिलिज गरिएको बताइन्। उनका अनुसार, अष्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमा प्रदर्शन हुन लागेको हो।
चलचित्रको वितरण नमस्ते इन्टरटेनमेन्टमार्फत भइरहेको छ। कम्पनीका देव कार्कीका अनुसार, नेपालसँगै अष्ट्रेलियामा पनि चलचित्रलाई एकसाथ रिलिज गरिँदैछ र सकारात्मक व्यापारको अपेक्षा गरिएको छ।
**‘माग्ने बुढा’**को नामले चिनिने कलाकार केदार प्रसाद घिमिरेले पहिलो पटक मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङदेल, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ।
मुनाल घिमिरेको निर्माण, ऋषि लामिछानेको निर्देशनमा तयार भएको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन, नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन र सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ।