काठमाडौं :
गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को भावनात्मक भिडियो सार्वजनिक गरेको छ। आइतबार निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो रिलिज गरेको हो।
भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ। भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन् । दृश्यमा बसुन्धराले दयालाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन्।
त्यसपछि बसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन्। भिडियो अनुसार, उक्त रकम सहकारी संस्थामा जम्मा गर्न दिइएको बुझिन्छ। फिल्मको टिजरमा पनि दयाहाङ सहकारीका अध्यक्षको भूमिकामा देखिएका थिए,जहाँ उनले बचतकर्ताहरूको आक्रोशको सामना गरिरहेका छन्।
भिडियोमा लेखिएको सन्देशमा भनिएको छ,‘सम्पूर्ण आमाहरूको सम्मानमा, चलचित्र ‘महाभोज’ परिवारको तर्फबाट आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी) को हार्दिक मङ्गलमय शुभकामना। अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन।’
नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। निर्देशकका अनुसार, चलचित्र पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन्। चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।
‘महाभोज’ नेपालसँगै नेपालीहरूको बसोबास रहेका अधिकांश देशमा एकैसाथ प्रदर्शनमा आउदैछ।