काठमाडौं :
रोहित अधिकारी निर्मित नेपाली फिल्म ‘माइतीघर’ को अस्ट्रेलिया प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री भएको छ। आगामी दशैंको फूलपातीबाट विश्वव्यापी प्रदर्शनमा ल्याउने तयारीमा रहेको फिल्मको अस्ट्रेलिया राइट्स हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेका हुन्।
निर्माणपक्षका अनुसार, राइट्स बिक्रीबाट फिल्मको लगानीको एक ठुलो हिस्सा सुरक्षित भएको छ। यससँगै ‘माइतीघर’ ले अन्तर्राष्ट्रिय बजारमा सशक्त उपस्थिति जनाउने संकेत देखिएको छ। मिलन तामाङ निर्देशित र निर्माता रोहित अधिकारीले अन्य मुलुकहरूमा पनि वितरण अधिकार बिक्रीका लागि छलफल भइरहेको जानकारी दिएका छन्।
फिल्ममा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहनेछ। सुसन प्रजापतिको छायांकन, ईश्वर श्रेष्ठ र निरज कटुवालको कार्यकारी निर्माणमा तयार भइरहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको संयुक्त लगानी रहेको छ।
हालसम्म फिल्मको फस्टलुक सार्वजनिक गरिएको छैन। तर, दशैंको अवसर पारेर विश्वभर प्रदर्शन गर्ने योजना बनाइएको फिल्मप्रति बजारमा उत्सुकता देखिएको छ। फिल्मले विदेशमा राम्रो व्यापार गर्ने संकेत यस राइट्स बिक्रीले पुष्टि गरेको छ। अभिनेता घिमिरेको फिल्म ‘माग्नेराजा’ आगामी भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा छ।
