मुम्बई :
बलिउडका चर्चित अभिनेता परेश रावल फेरि फिल्म ‘हेरा फेरी ३’ मा देखिने भएका छन्। केही समय अघि रचनात्मक मतभेदका कारण फिल्मबाट बाहिरिने निर्णय गरेका रावलले अहिले पुनः फिल्ममा फर्कने पुष्टि गरेका हुन्।
फिल्म निर्माता फिरोज नाडियाडवालाका अनुसार, यो निर्णयमा साजिद नाडियाडवाला र कोरियोग्राफर तथा निर्देशक अहमद खानले महत्त्वपूर्ण भूमिका खेलेका छन्। पिंकभिल्ला सँगको कुराकानीमा उनले भने, “मेरो भाइ साजिद नाडियाडवालाको माया, सम्मान र मार्गदर्शनले ‘हेरा फेरी’ परिवार फेरि एक भएको हो। अहमद खानले पनि यसमा ठुलो परिश्रम गरे।”
निर्माताले भनेअनुसार, अक्षय कुमारले पनि पुरा समर्थन जनाएका थिए। “१९९६ देखि हामीबीच गहिरो सम्बन्ध छ। अक्षयजी दयालु, सौहार्दपूर्ण र सहयोगी हुनुहुन्छ,” फिरोजले थपे।
यसअघि परेश रावलले फिल्म छाडेपछि अक्षय कुमारको टोलीले कानुनी नोटिस समेत पठाएको थियो। अक्षयकी वकिल पूजा तिडकेले निर्माण पक्षले लगानी गुमाउने खतरा देखाउँदै कारबाहीको चेतावनी दिएकी थिइन्। त्यसपछि रावलले साइनिङ रकम ११ लाख रुपैयाँ ५ प्रतिशत ब्याजसहित फिर्ता गरेका थिए।
निर्देशक प्रियदर्शनले मिड डे लाई दिएको अन्तर्वार्तामा भनेका छन्, “जब अक्षयलाई थाहा भयो कि परेश फिल्म गर्न चाहँदैनन्, उनी भावुक भए। उनले मसँग सोधे – ‘परेश किन यस्तो गरिरहेका छन्रु’ यदि उनी फर्किन चाहँदैनन् भने, अक्षयले पनि आर्थिक रूपमा नोक्सानी बेहोर्नु हुँदैन भन्ने उनको सोच थियो।”
अन्ततः, हिमांशु मेहताको पोडकास्टमा बोल्दै परेश रावलले भने, “अब म फिल्ममा देखिन्छु। दर्शकहरूले धेरै माया दिएका छन्, त्यसैले जिम्मेवारी महसुस गर्छु। हामी सबैजना – प्रियदर्शन, अक्षय, सुनिल – वर्षौँदेखिका साथी हौँ, त्यसैले यसमा स्पष्टता आउनु जरुरी थियो।”
फिल्म ‘हेरा फेरी ३’ लाई लिएर विवाद चुलिँदा दर्शक निराश भएका थिए। तर अहिले पुनः मूल कलाकारहरूको एकता कायम भएपछि, यो चर्चित फ्रेन्चाइजप्रति दर्शकको आशा पुनः जागेको देखिन्छ।
