काठमाडौं :
नेपाली फिल्म ‘माइतीघर’का निर्माता रोहित अधिकारीले फिल्म प्रचारप्रसारमा अपनाएको शैलीले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। दशैंको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्मको बारेमा उनले फेसबुकमा लेख्दै,कान नसुन्ने र आँखा नदेख्नेले पनि थाहा पाउनेछन्’ भन्ने अभिव्यक्ति दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्,‘बाचा भयो — यो २०–५० को होर्डिङ बोर्ड काठमाडौंको मुख्य नाका, नौबिसेमा लाएका छौं। २०–१०० का होर्डिङहरू पनि चोक–चोक, गल्ली–गल्ली, हिमाल–पहाड–तराई सबै तिर प्राणभन्दा प्यारो माइतीघर।’
निर्माता अधिकारीले विशेषगरी दशैंको फुलपातीको दिन फिल्म प्रदर्शनमा आउने जानकारी दिंदै अत्यधिक प्रचार–प्रसारका माध्यमबाट देशव्यापी जागरुकता फैलाउने उद्देश्य राखिएको जनाएका छन्।
यस किसिमको आक्रामक प्रचार शैलीमा केहीले रचनात्मकता देखेका छन् भने केही दर्शकहरूले यसलाई अतिशयोक्तिपूर्ण भनेका छन्। विज्ञहरूका अनुसार, यसले नेपाली फिल्म बजारमा प्रतिस्पर्धात्मक प्रचारप्रणालीको अभ्यासलाई थप तीव्र बनाउने संकेत दिन्छ।
‘माइतीघर’ फिल्मको कथावस्तु, कलाकार र विषयवस्तुबारे थप विवरण आउन बाँकी भए पनि प्रचारक्रममा निर्माता अधिकारीका शब्दहरू दर्शक आकर्षणमा निर्णायक हुनसक्ने देखिन्छ।
यसअघि छ माया छपक्कै, गाजलु र फर्की फर्कीजस्ता हिट फिल्म निर्माण गरेका अधिकारीको यो चौंथो प्रोेजेक्ट हो । यो फिल्ममा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ, रजनी गुरुङ लगायतको अभिनय छ।
मिलन तामाङले निर्देशन गरेको यो फिल्मको छायांकन सुसन प्रजापतिको छ। रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा यो फिल्मको निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन्। कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन्।