काठमाडौं :
देशव्यापी रूपमा सुखद व्यापार गरिरहेको फिल्म ‘मालती मङ्गले’ दोस्रो सातामा प्रवेश गरेसँगै यसका प्रमुख कलाकारहरूको अभिनयले दर्शक र समीक्षकको विशेष ध्यान खिचेको छ। हलबाट बाहिरिएका अधिकांश दर्शकले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका कलाकारहरूको जीवन्त प्रस्तुति नै यो फिल्मको मुख्य खम्बा रहेको प्रतिक्रिया दिएका छन्।
विशेष गरी अभिनेत्री वर्षा राउत र अभिनेताद्वय विजय बराल तथा मेक्सम गौडेलको अभिनयले सिनेमाघरहरूमा दर्शकलाई भावुक र मनोरञ्जित दुवै बनाउन सफल भएको छ। पछिल्लो समय बलियो चरित्रको खोजीमा रहेकी अभिनेत्री वर्षा राउतले यस फिल्ममा मर्मस्पर्शी अभिनय गरेकी छन्। उनको चरित्रले दर्शकलाई गहिरो भावनात्मक यात्रा गराउँदै आँखा रसाउने अवस्थामा पुर्याएको हल रिपोर्टहरूले देखाएका छन्। अर्कातर्फ, रङ्गमञ्च र सिनेमा दुवैमा आफ्नो सशक्त उपस्थितिका लागि चिनिएका अभिनेता विजय बराल र मेक्सम गौडेलले फिल्ममा पेट मिचीमिची हँसाउनेदेखि लिएर गम्भीर मोडहरूमा दर्शकलाई बाँधिराख्ने काम गरेका छन्। उनीहरूको यो त्रिकोणात्मक अभिनयको जुगलबन्दीलाई दर्शकले ‘नेपालीपन बोकेको उत्कृष्ट प्रस्तुति’ भन्दै प्रशंसा गरिरहेका छन्।
मुख्य कलाकारहरूका साथै फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङ जस्ता अनुभवी तथा उदयमान कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ। कलाकारहरूको यही टोलीले फिल्मको कथावस्तुलाई जीवन्त बनाएका कारण नेपालमा मात्र नभई आजैबाट सुरु भएको अमेरिकी बक्स अफिस प्रदर्शनमा पनि यसको प्रत्यक्ष फाइदा पुग्ने निर्माण पक्षको विश्वास छ।
प्रकु पाण्डेयको निर्देशन र संयोग गुरागाईँको पटकथा रहेको यस फिल्मका कलाकारहरूको अभिनयको बलमा ‘वर्ड अफ माउथ’ बलियो बन्दै गएकाले आगामी दिनमा बक्स अफिस यात्रा थप आक्रामक हुने संकेत देखिएको छ।