काठमाडौं :
एक महिना अघि प्रदर्शनमा आएको फिल्म ‘धन विनाको मन ठुलो की’ हिट भएपछि यस फिल्मका निर्देशक तथा संगीतकार टंक बुढाथोकीले दोस्रो फिल्म ‘बा–आमा’ निर्माण गर्ने भएका छन्।
सोही फिल्मका कलाकार बालगायक अशोक दर्जी र आफ्नै छोरा एआर बुढाथोकीलाई राखेर ‘बा–आमा’ निर्माण गर्न लागेका हुन्। शनिबार निर्देशक बुढाथोकीले अशोक र एआर फिल्मका लागि छनोट भइसकेको अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको जानकारी दिए। उनका अनुसार फिल्मको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ।
टंक बुढाथोकीकै कथामा निर्माण हुने यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ। उनले कुराकानीमा भने, ‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ ।’
उनका अनुसार नयाँ वर्षबाट फिल्मको छायाकन थालिनेछ। फिल्मको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत ‘बा–आमा’ बाट प्रेरित हुनेछ। पहिलो फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो फिल्म निर्माण गर्ने लक्ष्य रहेको बताए।
करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत ‘बा–आमा’ कै शीर्षकमा फिल्ममा पारिवारिक तथा सामाजिक कथावस्तु रहने छ। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको निर्माताका रुपमा विष्णुमाया मैनाली रहनेछिन्।