सुचना, समाचार र मनोरन्जन

बेरुजु फर्स्यौट गराउन प्रधानमन्त्री कार्यालयले एक्सन प्लान बनाएको छः सचिव कार्की

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने हो भने विद्यमान बेरुजु उल्लेख्य रूपमा घटाउन सकिने बताएका छन् ।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले बेरुजु फर्स्यौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए ।

धेरैजसो बेरुजु नियमित गर्नुपर्ने, प्रमाण जुटाउनुपर्ने तथा सम्बन्धित कार्यालय प्रमुख, लेखा प्रमुख र मन्त्रालयका सचिवमार्फत नियमित गरी महालेखा परीक्षकको कार्यालयमा संपरीक्षण गराउनुपर्ने प्रकृतिको रहेको उनको भनाइ थियो ।

‘बेरुजु घटाउन एकदम निर्मम भएर लागियो भने बेरुजु घट्छ । धेरै नियमित गर्नुपर्ने बेरुजु, प्रमाण जुटाउनुपर्ने बेरुजु, सम्बन्धित कार्यालय प्रमुख, लेखा प्रमुख र मन्त्रालयको सचिवले नियमित गरेर महालेखा परीक्षकलाई सम्परीक्षण गर्नुपर्ने भएकोले हामीले एउटा एक्सन प्लान नै बनाएर बेरुजु फर्स्यौटतर्फ लाग्ने हो भने बेरुजु घटाउन सकिन्छ । प्रधानमन्त्री कार्यालयले त्यो प्लान, त्यो एसन प्लान बनाएको छ,’ उनले भने ।

उनकाअनुसार कार्ययोजना बनाएर निर्मम अघि बढ्ने हो भने बेरुजु घटाउन सकिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बेरुजु फर्स्यौटका लागि छुट्टै एक्सन प्लान तयार गरेको जानकारी पनि उनले बताए ।

‘आन्तरिक नियन्त्रण प्रणाली भन्छौँ, त्यो पनि अलिकति औपचारिकतामा नै सीमित जस्तो छ । बेरुजु गर्ने, बेरुजु बढाउने र बेरुजु नगर्नेको बीचमा कार्यसम्पादनसँग हामी टाइ–अप (आबद्ध) पनि गर्दैनौँ र, बेरुजु सिर्जना हुनु र बेरुजु फर्स्योटलाई एउटा हाम्रो सदाचारिताको, कर्मचारीको मूल्यांकनको मापदण्ड पनि बनाउन सकिएको छैन । यी विविध कारणले बेरुजु बढेको जस्तो मलाई लाग्छ,’ उनले भने ।

आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यो अझै औपचारिकतामै सीमित रहेको बताए ।

सचिव कार्कीले बेरुजु गर्ने, बेरुजु बढाउने र बेरुजु नगर्ने कर्मचारीबीच कार्यसम्पादन मूल्याङ्कनमा कुनै स्पष्ट सम्बन्ध स्थापित नगरिएको बताए ।

Leave A Reply

Your email address will not be published.