गण्डकी,
पोखरामा शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रालिका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताबाट बचत भएको रकम भोटेकोशी–त्रिशूली बाढी प्रभावितलाई सहयोग गरिने उहाँको भनाइ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र भाइचाराका दृष्टिले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासङ्घ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बिमासमेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । खेल लिग प्रणालीमा सञ्चालन गरिने उहाँको भनाइ । अहिलसम्म चार टिम दर्ता भइसेकेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजार, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद रु ३० हजार, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद रू एक हजार ५०० प्रदान गरिने भएको छ ।