सुचना, समाचार र मनोरन्जन

‘मिरमिरे’मा गाइन् दयाहाङपत्नी बेनुकाले गीत

काठमाडौं :

अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक भइसकेको छ। सार्वजनिक टिजरले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।

बुवा र छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको टिजर दर्शकको ध्यान खिच्न सफल भएको हो। निर्माण टिमले प्रचार सामग्री सार्वजनिक गर्ने क्रम जारी राख्दै केही दिनभित्रै चलचित्रको गीत सार्वजनिक गर्ने तयारी गरेको छ।

चलचित्रको कथा बोकेको उक्त गीतमा गायिका बेनुका राईको स्वर रहने निर्माण टिमले जानकारी दिएको छ। बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती समेत हुन्। विवाहपछि तथा दयाहाङ राई अभिनयमा व्यस्त भएपछि बेनुका गायनमा कम सक्रिय रहे पनि ‘मिरमिरे’का लागि उनले स्वर दिएको बताइएको छ।

बेनुकाको स्वर रहेको गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

चलचित्रको लेखन तथा निर्देशन यम शेर्पाले गरेका हुन्। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यस चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.