द काउन्सिल अफ जेन जी मोरङले मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालमाथि कुनै दबाब, प्रभाव वा अन्यायपूर्ण कारबाही नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरका एक उद्योगीको निवासमा कानुनी प्रक्रिया अनुसार गरिएको खानतलासीको विषयलाई लिएर एसपी कटुवालसँग स्पष्टीकरण तथा सम्भावित कारबाहीको चर्चा सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा कानुन सबैका लागि समान हुने उल्लेख गर्दै कुनै पनि व्यक्तिको सामाजिक, आर्थिक वा राजनीतिक हैसियतभन्दा माथि कानुन रहेको र प्राप्त सूचना तथा कानुनी प्रक्रियाअनुसार अनुसन्धान गर्नु प्रहरीको वैधानिक दायित्व भएको उल्लेख गरिएको छ। अनुसन्धानपछि कुनै अवैध वस्तु वा प्रमाण फेला नपरे पनि त्यसका आधारमा आफ्नो जिम्मेवारी पूरा गरेका प्रहरी अधिकृतलाई विवादमा तान्नु वा निरुत्साहित गर्नु उचित नहुने संस्थाको भनाइ छ।
काउन्सिलले सम्बन्धित उद्योगी परिवारले समेत प्रहरीले आफ्नो कानुनी दायित्व पूरा गरेको भन्दै सार्वजनिक रूपमा सहयोग र समर्थन जनाएको अवस्थामा प्रहरी नेतृत्वमाथि कुनै स्वार्थ, दबाब वा प्रभावका आधारमा स्पष्टीकरण वा कारबाही गर्नु कानुनी शासन र निष्पक्ष अनुसन्धानको सिद्धान्तविपरीत हुने जनाएको छ।
विज्ञप्तिमा इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकारीलाई अन्यायपूर्ण रूपमा निरुत्साहित गरिए भविष्यमा प्रभावशाली व्यक्तिमाथि कानुन कार्यान्वयन गर्न प्रहरी हिच्किचाउने अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि दिइएको छ।
द काउन्सिल अफ जेन जी मोरङले निष्पक्ष अनुसन्धानलाई निरन्तरता दिन, तथ्य, प्रमाण र कानुनका आधारमा मात्रै निर्णय गर्न तथा प्रहरी संगठनको मनोबल उच्च राख्न आग्रह गर्दै कुनै पनि कर्तव्यनिष्ठ प्रहरी अधिकृतमाथि अन्यायपूर्ण कारबाही नगर्न सम्बन्धित निकायसँग माग गरेको छ।
