काठमाडौँ,
निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान उक्त सडक खण्डको तुईन खोला पुल, नाम्सि खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरो खसेका कारण यातायात प्रभावित भएको छ ।
तुईन खोला र नाम्सि खोलाको नयाँ पुल नजिकै माथिबाट ढुङ्गा खसेको छ भने सिमलतालमा माथिबाट लेदो बगेर सडकमा आएपछि सडक एकतर्फी बनेको छ ।
अवरुद्ध सडकलाई पूर्ण रूपमा सुचारु गराउन सडक डिभिजनको भारी उपकरण (हेभी इक्विपमेन्ट) हरू परिचालन गरी पहिरो तथा लेदो पन्छाउने काम निरन्तर भइरहेको छ । थप पहिरो नझरेमा केही समयभित्रै सडक दुईतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको डिभिजनले जनाएको छ ।
यसैबीच, सो क्षेत्रमा पानी परिरहेको र थप पहिरो खस्ने जोखिम कायमै रहेकाले सो सडक भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सडकको अद्यावधिक अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।