सुचना, समाचार र मनोरन्जन

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन,
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो । योसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् ।
लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउ भासिएको छ । बेनिघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ । कृष्णभीर माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
सूचना अधिकारी मिश्रका अनुसार ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुङ्गासहितको साना पहिरा खसेको छ ।
फिस्लिङ आसपासस्थित  विभिन्न तीन स्थान गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने ३० मिटरजति सडकको आधा भाग ३० चर्किएको छ । चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेको छ । धारापानीको दुई  स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।
सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको र घोप्टेभीर तथा सिमलधारामा ठूला ढुङ्गा र लेदोसहित आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । इञ्जिनियर मिश्रका अनुसार सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । अब ठूलो पहिरो नखसेमा साँझसम्म पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण पन्छाउने काममा प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।
Leave A Reply

Your email address will not be published.