काठमाडौं :
यो सिनेमा छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ। निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिनेमाको मुख्य अभिनेता मुकुन भुषालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन्। निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा सिनेमाबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताउँछन्।
निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा निस्कँन सकेका थिएन्। सोही विषयमा विवाद भएपछि उनले ‘झिँगेदाउ २’ बाट मुकुनलाई निकालेर महेशलाई अनुबन्धित गर्दै छायांकनमा जान तयार भएका हुन्। यस विषयमा हामीले निर्देशक देउजासँग बुझ्दा विवादको कारण खुलाउन नचाहेपनि सिनेमाका मुख्य अभिनेता मुकुन भुषाललाई निकालेको दाबी गरे।
अभिनेता भुषालको करियरको पहिलो सुपरहिट सिनेमा नै ‘झिँगेदाउ’ थियो। त्यसअघि उनले केही राम्रा सिनेमामा अभिनय गरेपनि बक्सअफिसमा सफल हुनसकेका थिएनन्।कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने यो सिनेमामा महेशसहित आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंहलगायतका कलाकारलाई भित्र्याएका छन्। यसअघिका कलाकारहरुमा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्का लगायतका कलाकार भने यतावत् छन्।
सिनेमाका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ। यो सिनेमालाई अर्को वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्देशक देउजाले गरेका छन् । सिनेमालाई एप्पल इन्टरटेनमेन्टले देशव्यापी रिलिज गर्नेछ।