सुचना, समाचार र मनोरन्जन

नङले बताउँछ स्वास्थ्य अवस्था, यसरी गर्नुस् आफ्नो नङको हेरचाह

काठमाडौँ,

नङलाई प्रायः सौन्दर्यको प्रतीक मानिन्छ, जसले हातको सुन्दरता बढाउँछ । तर नङले सुन्दरता मात्र होइन स्वास्थ्यलाई पनि प्रतिबिम्बित गर्छन् । नङहरूले हाम्रो अन्तर्निहित स्वास्थ्य अवस्था पनि बताउँछन् । त्यसैले पनि आयुर्वेदमा नङहरूलाई शरीरको ऐना भनिन्छ ।

नङहरू केराटिन र क्युटिकलबाट बनेका हुन्छन् । केराटिनले कपाल र छालाको तन्तुको निर्माणमा सहायक हुन्छ र नङको सतहलाई सुरक्षित राख्छ । यसले चोट लाग्दा छिटो निको हुन मद्दत गर्छ । क्युटिकलले नङलाई छालासँग जोडिइराख्न मद्दत गर्छ अनि ब्याक्टेरिया र फङ्गसलाई छालामा प्रवेश गर्नबाट रोक्छ । यसलाई नङ र छालाको रक्षक पनि भनिन्छ ।

नङ हाम्रो शरीरको लागि निकै महत्त्वपूर्ण छन् । नङहरूले औँलाका सतहलाई सुरक्षित राख्छन् र चोटपटक अनि सङ्क्रमणबाट बचाउँछन् । यसबाहेक नङहरूले औँलाहरूको पकडलाई बलियो बनाउँछ जसले गर्दा तिनीहरूले कडा र भारी वस्तुहरू उठाउन सक्छन् ।

नङमा देखिन्छन् यस्ता लक्षणहरूः

नङले स्वास्थ्य अवस्थाबारे विभिन्न सङ्केत गर्छन् । त्यसैले यसको हेरचाह महत्त्वपूर्ण छ ।
पहेँलो नङले फंगल सङ्क्रमण वा कलेजोको रोगलाई सङ्केत गर्न सक्छ ।
नङ सेतो हुनु भनेको रक्तअल्पता, भिटामिन बी१२ को कमी, वा फोलिक एसिडको कमीलाई सङ्केत गर्न सक्छ ।
नङमा अचानक रेखाहरू देखिनुले थाइराइड रोगलाई सङ्केत गर्दछ । यदि यस्ता लक्षणहरू देखा परेका छन् भने डाक्टरसँग परामर्श लिनुपर्छ ।

कसरी गर्ने नङको हेरचाहः

नङको हेरचाह पनि धेरै सजिलो छ । केही घरेलु उपचारहरूले नङ र हात दुवैको हेरचाह गर्न मद्दत गर्न सक्छन् ।

नङको हेरचाह गर्न कागती र जैतुनको तेल प्रयोग गर्न सकिन्छ । जैतुनको तेलमा थोरै कागती मिसाएर आफ्नो नङको छालामा केही समय मालिस गर्दा नङमा भएको पहेँलोपन हटाउन मद्दत मिल्छ ।

नरिवल वा बदामको तेल लगाउनाले पनि नङ बलियो हुन्छ ।

यस्तो आहार अपनाउनुहोस्

आहारमा हेरफेर गरेर पनि नङको हेरचाह गर्न सकिन्छ । नङलाई हड्डीसँग जोडेर हेरिन्छ । आयुर्वेदले हड्डी कमजोर हुँदा नङ भाँचिन थाल्छ भन्ने विश्वास गर्छ । त्यसैले, पर्याप्त मात्रामा क्याल्सियम सेवन गर्नुपर्छ र भिटामिन डीको कमीबाट बच्नुपर्छ । भिटामिन डीको स्तर पर्याप्त भयो भने मात्रै शरीरमा क्याल्सियम अवशोषण हुन्छ ।

Leave A Reply

Your email address will not be published.