मनाङ ।
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आवश्यक मात्रामा बजेट विनियोजन नगर्दा पालिकाले आफैँ एक्साभेटर र ब्रेकर खरिद गरी पालिकालाई सडक सञ्जालसँग जोड्ने प्रयास गरिरहेका जानकारी दिए । उनका अनुसार हालसम्म १४ किलोमिटर जति बाटो खन्ने काम भइसकेको छ ।
सडक सञ्जालबिना अन्य विकासका काम असम्भव हुने हुँदा हामीले बजेट विनियोजन गरेर पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने प्रयास गरिरहेको उनले बताए । पालिकाको केन्द्र च्याँखुसम्म जिल्ला सदरमुकामबाट २६ किलोमिटरको दूरी छ । पहिला गाउँपालिकामा कुनै पनि भौतिक पूर्वाधार थिएन । अध्यक्ष लामाले भने, “उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँचको अवस्था छैन, हामीले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्ट खडा गरिसकेका छौँ, यसैलाई विकास मान्नुपर्ने अवस्था छ ।” ‘सम्पन्न नार्पाभूमि : प्रसन्न नार्पा जाति’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको विकासमा जोड दिइरहेको उनको भनाइ छ ।
चीनसँग सिमाना जोडिएको विकट यस पालिकाले यार्सागुम्बालगायतका जडीबुटीका लागि व्यावसायिक रूपमै खेती गर्ने योजना बनाएको छ । यहाँको जिम्बुलाई देशविदेशसम्म पुर्याएर यहाँको प्रवद्र्धन गर्न लागिरहेको उनको भनाइ छ । पर्यटनको सन्दर्भमा नार्पाभूमिको ‘भिलेज प्रोफाइल’ तयार भएको छ । यहाँ भएका नार्फु ट्रेयल, (सेभेन पास ट्रेयल), नार गाउँ, फु गाउँ, सत्य गुम्बा, काङ्ला पास, टासिलाकाङ गुम्बा र काङ्ला पोखरी लगायतका द पर्यटकीय तथा धार्मिक स्थानको प्रचारप्रसार गरिरहेका उनले बताए । नार्पाभूमि गाउँपालिकालाई नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
विकट क्षेत्रमा कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको व्यवस्थापन एक जटिल समस्या बनेको उनको भनाइ छ । ‘‘सेवाग्राही थोरै मात्र हुने भएकाले कर्मचारीलाई काम गर्न सजिलो हुँदा समेत कर्मचारीहरु आउन मान्दैनन्’’ उनले भने । ‘व्यवस्थित बस्ती विकास’ कार्यक्रम सञ्चालन गर्नुका साथै समयसमयमा घुम्ती शिविर राखेर पनि सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अन्य विकासका पूर्वाधारका क्षेत्रमा पनि पालिकाले प्राथमिकता दिएको छ ।
फु गाउँ चीनसँगको अन्तर्राष्ट्रिय सीमा रहेको छ । अहिलेसम्म त्यहाँ सीमास्तम्भ राखिएको पाइएको छैन । नार्पाभूमिलाई सुरक्षित राख्न फु गाउँमा बोर्डर आउट पोस्ट (बिओपी) राख्नेबारे छलफल भइरहेको उनले जानकारी दिए । उनले भने, “यसका लागि आवश्यक पर्ने पूर्वाधार र सातदेखि १० रोपनी जमिनको खोजी भइरहेको छ, सर्वदलीय छलफलबाट बिओपी राख्ने सहमति भइसकेको छ, गृह मन्त्रालय र गृहमन्त्रीसँग पनि यस विषयमा छलफल गरेका छौँ, अन्तर्राष्ट्रिय सिमाना सुरक्षित गर्न राज्यको पनि ध्यान जानु जरुरी छ ।”
भौगोलिक विकटताले गर्दा यहाँ कोहीलाई जटिल स्वास्थ्य समस्या आयो भने हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन । विपन्न वर्गलाई उपचारको पहुँचसम्म पुर्याउन पालिकाले ५० प्रतिशत छुटमा व्यवस्थापन गर्ने गरेको उनले जानकारी दिए । सामान्य स्वास्थ्य समस्यालाई यहाँका स्वास्थ्य चौकीमा नै औषधोपचार हुने गरेको छ ।
पर्यटकले जथाभाबी फोहोर फाल्दा नदी फोहोर भएको तीतो अनुभव रहेको अध्यक्ष लामाले सुनाए । नदी सफा गर्नेतर्फ पालिको ध्यान केन्द्रित गरेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत आउने पर्यटकलाई दोब्बर रोयल्टी तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । यहाँका हिमलुङ, चोय, जुलु पिक, जुलु फरेस्टलगायतका साना हिमाल आरोहणमा पर्यटक आउने गर्दछन् ।
त्यस्तै यहाँको पर्यटकीय क्षेत्रको रुपमा परिचित समुद्री सतहबाट पाँच हजार दुई सय मिटर उचाइमा रहेको काङ्ला पास, मुस्ताङ निस्कने तेरिला पास पनि यसै क्षेत्रमा पर्दछ । यस पदमार्ग हुँदै घुम्न आउने पर्यटकलाई सहज बनाउन आवश्यक छ । स्थानीय तहले सडक सञ्जाललाई विकास गर्दा पदमार्गलाई असर नगर्ने गरी सङ्घ र प्रदेश सरकारले सहयोग गरेमा यहाँको प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्न सकिन्छ । रासस