सन्तोष बस्याल
पोखरा ।
पछिल्लो समय पोखरामा कार्यक्रमको लर्को छ । विविध उद्देश्य राखेर फरकफरक कार्यक्रम यहाँ भइरहेका छन् । अङ्ग्रेजी वर्षमा आयोजना गरिने सडक महोत्सव सकिने बित्तिकै प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी, चङ्गा फेस्टिवल समेत भइसकेको छ ।
पौष २६ गतेबाट समेत पोखरामा ठूला कार्यक्रम हुँदैछन् । छाडाचौपायाहरुलाई व्यवस्थापन गर्न निर्माण गरिएको गौशाला उदघाटनका लागि पौष २६ बाट माघ २ गतेसम्म महायज्ञको आयोजना गरिएको छ । यस्तै यही समय पोखरा महोत्सव समेत हुँदैछ । अमरसिंहचौरमा हुने महोत्सव पनि पौष २६ बाट नै सुरु हुँदैछ । जून माघ ८ गतेसम्म चल्नेछ ।
यस्तै, माघ १ देखि ६ गतेसम्म आयोजना गरिएको अर्को कार्यक्रम हो टाइगर कप भलिबल प्रतियोगिता । टाइगर गु्रप अफ पोखरा नेपालले आयोजना गरेको उक्त प्रतियोगिता भलिबल खेल प्रेमीहरुका लागि उत्कृष्ट गन्तव्य हो । पोखरा रंगशालाको भलिबल कोटमा आयोजना गरिने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुको उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले परिचयलाई जानकारी गराएका छन् ।
२०७७ सालमा स्थापना गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालले वर्षेनी भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ठूलो राशीको प्रतियोगिता भएकाले पनि यसमा आकर्षण बढ्दो पाइन्छ । पोखरामा भलिबलको गतिविधि बढाउने उद्देश्य स्वरुप आयोजित प्रतियोगिता सफल हुँदै गएको आभाष हुन्छ । स्थानीय तवरमा नै खेलाडी उत्पादन गर्नका लागि टाइगर कप भलिबल प्रतियोगिताले मदत पुर्याएको विश्वास आयोजक संस्थाको छ ।
विगतमा देखिएका समस्यालाई समाधान गर्दै यसपालीको भलिबल प्रतियोगितालाई मर्यादित बनाउन आफुहरु लागिरहेको शर्मा बताउँछन् । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रचारप्रसारको दृष्टिकोणबाट समेत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य सहित आफुहरु अगाडि बढेको भनाई उनको छ ।
‘सबैको साथ सहयोगले आज हामी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको आयोजना गर्दैछौं’, उनले भने, ‘भलिबल प्रतियोगिता सबैको रुचीको विषय बनेको छ ।’
चौथो संस्करणको भलिबल प्रतियोगिता च्याम्पियनसिप क्लबहरु बीच मात्रै हुनेछ । महिला तर्फ ६ टिम, पुरुष तर्फ ६ टिमको सहभागिता अहिले रहनेछ । जसमा विदेशी टिमको समेत सहभागिता हुने बताइएको छ ।
तेस्रो संस्करणसम्म रनिङ राउण्डको प्रक्रियाअनुसार भलिबल खेलाइन्थ्यो । यसपटक भने लिकअप नकआउट प्रक्रियामा भलिबल खेलाइने शर्माले उल्लेख गरे । माघ १ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्नेछन् भने माघ ६ गते समापन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले गर्ने सेड्युल तयारी भएको उनले बताए ।
दर्शकका लागि भइरहेको मौजुदा भलिबल कोर्टलाई नै व्यवस्थापन गरिएको छ । स्थायी प्याराफिटमा रंगरोगन गर्ने काम भइसकेको छ । कम्तीमा दुई हजार पच्चीस सय दर्शक बस्ने अस्थायी प्याराफिट पनि तयार गरिएको छ । खेलाडी, जेष्ठ नागरिकलाई छुट्टै बस्ने व्यवस्था मिलाइएको छ । गत साल १ सय, २ सय र ३ सय रुपैयाँको टिकट थियो भने अहिले २ सय, ३ सय र ४ सय रुपैयाँ टिकट लाग्नेछ ।
अहिलेको भलिबल कोर्ट साँघुरो भएकाले पनि दर्शक व्यवस्थापनमा समस्या देखिएको शर्मा बताउँछन् । उनका अनुसार सुविधाजनक तवरले दर्शकलाई बसेर हेर्न सक्ने व्यवस्था मिलाइनेछ । गण्डकी प्रदेश भलिबल संघ, कास्की जिल्ला भलिबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद्सँग मिलेर टाइगर ग्रुप अफ पोखरा नेपालले खेलाडी उत्पादन गर्ने बाटोमा अग्रसर रहेको उनले बताए । भलिबल खेलाडी उत्पादनका लागि ट्रेनिङ सेन्टर नै खोल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
तीन तहका सरकार मध्ये स्थानीय सरकारलाई व्यवस्थित बनाउन आवश्यक छ । ७ सय ५३ वटै स्थानीय तहलाई खेलसँग जोडेर लैजानुपर्ने उनले उल्लेख गरे । प्रदेश सरकार र संघ सरकारले समेत स्थानीय तहलाई खेलसँग जोड्ने गरी नीति बनाउनुपर्ने उनले बताए । स्कुलबाट नै खेलाडी उत्पादन गर्ने गरी हामी लागिरहेका छौं यसमा सरकारको सहयोगको अपेक्षा छ ।
टाइगर कप भलिबल प्रतियोगिता अब स्थानीय तह लेवलको हुनेछ । स्थानीय खेलाडीहरुलाई अवसर दिने गरी प्रतियोगितालाई अगाडि बढाउने सोच संस्थाको छ ।