सुचना, समाचार र मनोरन्जन

नीता अभिनित ‘रियाल रिङ्गेट’को मार्मिक टिजरमा नेपाली युवाको दर्दनाक कथा

काठमाडौं :

अभिनेत्री नीता ढुङ्गाना अधिकारी अभिनित ‘रियाल रिङ्गेट’को टिजरमा वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतारिएको छ। सार्वजनिक टिजरमा वैदेशिक रोजगारीमा जाँदा नेपालीले भोग्दै आएको घटनालाई टिजरमा उतारिएको देख्न सकिन्छ।

नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट निर्माण पक्षले देखाउने कोशिस गरेको देखिन्छ। नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवाहरू कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता(कस्ता चुनौतीहरू सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत मनसाय बोकेका व्यक्तिहरूको फन्दामा परेका युवाहरूको मार्मिक दृश्यहरू देखाएको छ । यसले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोहरूलाई उजागर गरेको छ।

विभोर पोखरेलको निर्देशनमा बनेको यस फिल्ममा नीताका अलवा प्रमोद चौलागाईं,छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्वाजले लेखेको यो फिल्मलाई कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ निर्माण पक्षको भनाई छ।

आगामी साउन १६ गते रिलिज हुने यस फिल्मको निर्माण कम्पनी रेबेल फिल्म्सलेका निर्माता गगनलाल प्रधान हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ। फिल्मका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ। गीतका शब्दहरू अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।

भारतको राजस्थान,नेपालका चितवन, काठमाडौं र मोरङको लेटाङमा छायाङ्कन गरिएको छ। यो फिल्मलाई काफिया फिल्म्सले वितरणको जिम्मा लिएको छ।

Leave A Reply

Your email address will not be published.