सुचना, समाचार र मनोरन्जन

‘पार्वती’ को भावुक गीत ‘मेरो दिदी’ रिलिज, लाइभ गाउँदा नीताका झरे आँसु

काठमाडौँ :

कुनै कुनै फिल्मका गीतले दर्शकलाई धरधरी रुवाउँछन्। फिल्म चलाउनका लागि र कथा भन्न फिल्मको गीतकै काफी हुन्छ। त्यस्तै असाध्यै राम्रो र दर्शकलाई रुवाउने गीत सोमबार रिलिज गरिएको छ। नीता ढुङ्गाना निर्देशित फिल्म‘पार्वती’को ‘मेरो दिदी’बोलको गीत रिलिज गरिएको हो।

किर्तिपुरको हलमा सार्वजनिक भएको यो गीतलाई लाइभमा गाएर उपस्थित पत्रकारहरुलाई सुनाइयो। फिल्मका गायक तथा संगीतकार बाबुल गिरी र गायक अशोक दर्जी गाएर सुनाउँदा निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले बरबरी आँसु झारेकी थिइन्। लाइभ गीत रिलिजसँगै सोमबार नै ओएसआर युट्युब च्यानलमार्फत यो लिरिकल गीत रिलिज गरेको छ।

बाबुल गिरीको शब्द संगीत तथा स्वर रहेको छ। साथै स्वरमा अशोक दर्जीको पनि छ। उनी यस फिल्मको अभिनेता पनि हुन्। सार्वजनिक गरिएको लिरिकल गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीलाई प्ले गरिएको छ। रक्षा बन्धनको समयमा दिदी र भाईको मायाले दर्शकको गहभरि आँसु भएको देखिन्छ। रक्षाबन्धनका समयमा दिदीभाईको माया गाँसिएको कुराले दर्शकलाई भावुक बनाउन सक्छ। गीतको शब्द तथा भिडियोमा मेल खाएको देख्न सकिन्छ।

नीता ढुङ्गानाकै निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली,आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ।निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

यसअघि यो फिल्मको झनौ तुनाको रेल’ बोलको गीत रिलिज रिलिज भएको थियो। जुन गीतलाई रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका हुन् भने शब्द रचना हर्क साउदको रहेको छ। पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको यस गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। गीतको भाका र यसका शब्दहरू निकै सुन्दर छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्। यस फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.