काठमाडौं :
कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को दोस्रो गीतले दर्शकको अत्यधिक माया पाउन सफल भएको छ। मंगलबार रिलिज भएको यो फिल्ममा समावेश गीत ‘भगवान नै आमा हुन्’लाई दर्शकले रुचाएका हुन्। मर्मस्पर्शी गीतमा आमाको महिमा वर्णन गरिएको छ।
यसअघि सार्वजनिक प्रचार सामाग्री उठेर नाचिस्यो गीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको थियो। मंगलबार सार्वजनिक मर्मस्पर्शी गीतले सिनेमाप्रति दर्शकको कौतुहल्ता अझै बढाएपछि निर्माण टिम उत्साहित बनेका छन्। सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना र संगीत छ ।
सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ। उनको अभिनय मनछुने लाग्छ । एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ।
धनन्जय गलानी कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ। फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
भोजपुरी फिल्म लगायतमा निर्देशन गर्दै आएका चन्द्र पन्तको निर्देशनमा बनेका यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ। विजय वस्यालले पोस्टर डिजाइन,मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्ने यो फिल्ममा अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको हो।