विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा मपना वडा नं ९ को वडा कार्यालयको समन्वयमा पोखरा –९ बसपर्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिनको लागि निःशुल्क दन्त र कानको शिविरका साथसाथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन समारोहमा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र पक्षहरुवारे संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तब्य राखेकी थिइन् ।
विद्यालयको सहयोगी संस्था सहारा क्लब पोखराका नव निर्वाचित अध्यक्ष केशव बहादुर थापाले नेलम्वो नेपाल संस्थाले विशेष परिस्थितिका बालबालिकाहरुलाई लक्षित गरी दाँत र कानको शिविर सञ्चालन गरेकोमा खुशी प्रकट गर्दै सहारा क्लबले सञ्चालन गरेको सुर्यवहादुर के।सी। स्मृती सहारा एकेडेमीका आश्रीत बालकहरु समक्ष पनि उक्त किसिमको कार्यक्रम ल्याइदिन अनुरोध गरे ।
पोखरा महानगरपालिका शिक्षामहाशाखाका प्रमुख हेम प्रसाद आचार्यले कक्षा ८ मा अध्ययनरत छात्रा शिलिषा परियारलाई ओ।पि।डी स्लिप प्रदान गरि सुभारम्भ भएको कार्यक्रममा नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले मन्तव्य राखेका थिए । मन्तब्यका क्रममा देवकोटाले आगमी दिनमा यस विद्यालय र सहारा एकेडेमीमा वार्षिक कार्यपात्रोमा नै योजना तर्जुमा गरि कार्यक्रम ल्याउन प्रयास गर्ने प्रतिवद्दता व्यक्त गरे। साथै प्रभावकारी सिकाईका लागी स्वस्थ हुन अत्यआवश्यक हुने हुँदा बालबालिकाहरुको स्वस्थ्य संग सम्वन्धित कार्यक्रम सञ्चालन गर्न पाउँदा निकै खुशि व्यक्त गरे ।
विद्यालयका निवर्तमान संयोजक तथा पोखरा महानगरपालिका वडा नं ९ का जनप्रतिनिधी नन्दराम गिरिले मन्तव्यका क्रममा विद्यालयको विभिन्न पक्षको प्रगतिको साक्षि हुन पाउँदा निकै हर्षित हुदै विद्यालयमा निम्न माध्यमिक तहको शिक्षकको अभावले शिक्षणसिकाईमा नै प्रभावपर्ने अवस्था सिर्जित हुन लागेकोले प्रमुख अतिथिलाई समस्या समाधानका लागि यथाशिघ्र पहल गरिदिन अनुरोध गरे ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महागरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले निस्शुल्क रुपमा दाँत र कानको शिविरका साथसाथै सचेतनामूलक कार्यक्रम बालबालिकाहरुमाझ सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै यस सहारा विद्यालय पालिकाको विभिन्न कार्यक्रमहरुमा पनि चर्चाको विषयमा रहिरहेको वताउदै विद्यालयमा सिर्जित समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्दता व्यक्त गरे । साथै विद्यालयलाई आवश्यक परेको वेलामा सहारा क्लब सहारा भएर उभिएकोमा सहारा क्लब पोखरा परिवारलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले यो शिविरले अव्यवस्थित वस्तिमा वसोवास गर्ने विद्यालयका बालबालिकाहरुलाई प्रभावकारी रुपमा सेवा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे । विद्यालयको बस्तुस्थितिको वारेमा सुचित गराउदै सवै पक्षलाई समाधानका लागी सरिक हुन अपिल गरे। साथै अध्यक्षले नेलम्बो नेपालको यस सामाजिक उत्तरदायीत्व कार्यक्रमले सिकाईलाई समेत अर्थपूर्ण राख्ने हुँदा आभार प्रकट गरी नेलम्बो नेपाल लगाएत विद्यालयलाई साथ र सहयोग प्रदान गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । उद्घाटन कार्यक्रमलाई सफल बनाउन सरिक हुने सम्पूर्ण प्रति आभारी व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, जनप्रतिनिधी लक्ष्मी पहारी,शिक्षा महाशाखाका अधिकृत जीवन प्रसाद रेग्मी, सहारा क्लब पोखराका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी, नेलम्वो नेपालका प्राविधिक टोली, विभिन्न टोलविकास र आमा समूहका पदाधिकारी, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो
