सुचना, समाचार र मनोरन्जन

विज्ञान हाजिरीजवाफमा न्यु मोडेलको ह्याट्रिकः अनिज र ओजस्वीको जोडीलाई उपाधि

पोखरा,

खेलकुदको मैदानमा मात्र होइन, बौद्धिक प्रतिस्पर्धामा पनि ह्याट्रिक दुर्लभ हुन्छ । तर, पोखराको शैक्षिक आकाशमा न्यु मोडेल सेकेन्डरी स्कुलले त्यो दुर्लभ इतिहास रचेको छ । विज्ञानको सुत्र र सिद्धान्तहरूको रोमाञ्चक भिडन्तमा न्यु मोडेलका छात्र अनिज पोखरेलले लगातार तेस्रो पटक स्वर्ण चुम्दै आफूलाई अब्बल साबित गरेका छन् ।

विज्ञान शिक्षक समाज नेपाल (स्टान) कास्कीले आयोजना गरेको सातौं गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिताको नतिजा जब घोषणा भयो, तब पोखरा–८, नागढुंगास्थित न्यु मोडेल स्कुलको पोल्टामा खुसीको वर्षा भयो । यो जित केवल एउटा ट्रफी मात्र थिएन, यो त विद्यालयले विज्ञान शिक्षामा गरेको निरन्तर साधना र एउटा परिवारले बोकेको विरासतको प्रतिफल थियो ।

अनिज र ओजस्वीको विजयी जोडी
यस वर्षको प्रतियोगितामा न्यु मोडेलको तर्फबाट कक्षा १० मा अध्ययनरत अनिज पोखरेल र ओजस्वी पौडेलको जोडी मैदानमा उत्रिएको थियो । गण्डकी प्रदेशभरका विद्यालयहरू सहभागी प्रतियोगितामा तीक्ष्ण प्रश्नहरूको सामना गर्दै यो जोडीले प्रथम स्थान हासिल ग¥यो ।

यो जितसँगै अनिजले व्यक्तिगत रूपमा लगातार तीन वर्ष प्रथम हुने कीर्तिमान (ह्याट्रिक) बनाए । प्रतियोगितामा मदरल्याण्ड सेकेन्डरी स्कुलले दोस्रो र ताराकुञ्ज स्कुलले तेस्रो स्थानमा चित्त बुझाउँदा न्यु मोडेलले भने १५ हजार नगद, ट्रफी र प्रमाणपत्रसहित विजेताको ताज पहिरियो ।

एउटा विज्ञानमय परिवारको कथा
न्यु मोडेलको यो सफलताको कथा खोतल्दै जाँदा हामी एउटा यस्तो परिवारमा पुग्छौं, जहाँको हावापानीमै विज्ञान छ । अनिजका बुबा लक्ष्मण पोखरेल सोही विद्यालयका विज्ञान शिक्षक हुन् । विद्यालयमा विज्ञान पढाउने बुबा र घरमा विज्ञानलाई नै साथी बनाउने छोराहरूको संयोगले यो सफलता सम्भव भएको हो । रोचक कुरा के छ भने, न्यु मोडेलको जितको यात्रा अनिजका दाजु एरिज पोखरेलबाट सुरु भएको थियो । २०७८ सालमा एरिज र रिंकू जैसवालको समूह दोस्रो भयो । २०७९ सालमा एरिज र आस्था भण्डारीको समूह पुनः दोस्रो भयो । २०८० सालमा एरिज र भाइ अनिजको जोडीले पहिलो पटक विद्यालयलाई प्रथम बनायो ।

यहीँबाट जितको बानी बसेको न्यु मोडेलले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । २०८१ सालमा अनिजले सुरज जैसवालसँग मिलेर उपाधि रक्षा गरे भने यसपालि ओजस्वी पौडेलसँग मिलेर ह्याट्रिक पूरा गरे । हाल दाजु एरिज एसओएसमा कक्षा १२ मा विज्ञान विषय नै पढ्दैछन् भने भाइ अनिजले बुबा र दाजुको विरासतलाई उचाइमा पु¥याइरहेका छन् । शिक्षक एवं अभिभावक लक्ष्मण पोखरेल भन्छन्, ‘छोराहरूको यो निरन्तर सफलताले विद्यालय र हाम्रो परिवारमा असीम खुसी छाएको छ ।’

प्रतिस्पर्धा र सम्मानको उत्सव
पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं विज्ञान संकाय प्रमुख डा. विजयबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम केवल विद्यार्थीको परीक्षा मात्र थिएन, शिक्षकहरूको सम्मानको उत्सव पनि थियो ।

कार्यक्रममा कास्की जिल्लाभरि विज्ञान विषयमा ३.९२९ औसत ग्रेड पोइन्टसहित शतप्रतिशत नतिजा ल्याउने मदरल्याण्ड सेकेन्डरी स्कुलका शिक्षकहरू महेशकुमार प्रधान, हरि कुँवर र रामप्रसाद ओझालाई सम्मान गरियो । त्यस्तै, सामुदायिक विद्यालयतर्फ अमरसिंह माविका शिक्षकहरू खेमराज आचार्य, सुदीप आचार्य र ज्योतिप्रसाद आचार्यले उत्कृष्ट नतिजा ३.६६ जीपीए ल्याएबापत सम्मान पाए । यस अवसरमा भौतिकशास्त्री पवित्रमणि पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिँदा माहोल भावुक र गौरवमय बनेको थियो ।

विज्ञान जस्तो जटिल विषयलाई सहज र रोचक बनाउँदै विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना जगाउन स्टान कास्कीले खेलेको भूमिका र न्यु मोडेल स्कुलले देखाएको निरन्तरता गण्डकी प्रदेशकै लागि उदाहरणीय बनेको छ । अनिज पोखरेलको ह्याट्रिकले के पुष्टि गरेको छ भने सही मार्गदर्शन, पारिवारिक वातावरण र कडा परिश्रम भयो भने सफलताको शिखर चुम्न असम्भव छैन ।

Leave A Reply

Your email address will not be published.