सुचना, समाचार र मनोरन्जन

चोयाबाट बनेका सामग्री बिक्न छोडे

ढोरपाटन/

पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।

‘पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो’, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने । उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताए ।

अहिले आफ्नै घरमा पनि प्लास्टिकका नाङ्लो र गाग्री प्रयोग गर्न थालेको घर्तीमगरको भनाइ थियो । प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएका बताए ।

आफ्नो पालामा नुन, भाँडाकुँडा र लत्ताकपडाबाहेक अन्य सामान बाहिरबाट नल्याएको स्मरण गर्दै पछिल्लो समय गाउँमा सबैले आयातित सामान प्रयोग गर्ने गरेका घर्तीमगरको भनाइ थियो । अहिले पनि केही बूढापाकाले चोयाबाट सामग्री बनाउने गरेका भन्दै उनले आधुनिक सामग्रीको प्रयोगका कारण ती बिक्री नहुने बताए । ‘आफूहरू दसैँ, माघेसङ्क्रान्ति र चैते दसैँका बेला दर्जनौँ डोका, नाङ्लो बोकेर बजारमा बिक्री गर्न जाने गरिन्थ्यो । फर्किदा घरमा चाहिने सामान लिएर आउथ्यौँ’, घर्तीमगरले स्मरण गरे ।

स्थानीय प्रेमबहादुर सुनारले आफू ११ वर्ष हुँदादेखि डालो, नाङ्लो बुन्दै आएको सुनाउँदै अहिले पनि बुन्ने गरेको बताए । पहिले एकै सिजनमा रू डेढ लाखको चोयाका सामग्री बेच्ने गरेकामा अहिले बिक्री नै हुन छाडेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.