पोखरा /
पोखरा महानगरपालिका १६, लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम २०८० शुक्रबार समापन भएको छ।
सहायक प्रधानाध्यापकद्वय पूर्णभद्र अधिकारी र बलबहादुर श्रेष्ठले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, मानसिक तथा चौतर्फी विकासका लागि कार्यक्रम गरिएको जनाए । वार्षिक खेलकुद कार्यक्रमको उद्धेश्यमाथि खेलकुद संयोजक विशाल नेपालीले प्रकाश पारेका थिए ।
वार्षिक खेलकुद कार्यक्रममा आधारभूत तहमा तातो आलु, बेलुन फुटाइ, मेमोरी खेल, फुटबल, कुर्र्सी दौड, चम्चा दौड लगायतका खेलकुद कार्यक्रम गरिएको थियो । माध्यमिक तहमा अन्तर सदनात्मक छात्र÷छात्रा फुटबल, भलिबल, २ सय र ४ सय मिटर दौड, कुर्र्सी दौड, टेबलटेनिस, रस्साकस्सी लगायत विविधि खेल सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
समापन कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कप अन्तर्गत् कराँते ४७ केजी तर्फ स्वर्णपदक विजेता कक्षा ८ मा अध्ययनरत प्रवेश तामाङलाई सम्मान गरिएको थियो । फुटबलको विजयी टिम निलो सदनसँग शिक्षकहरूले मैत्रीपूर्ण खेल खेलेका थिए ।
पुस ८ गतेदेखि सञ्चालन भएको खेलकुद कार्यक्रम समापन समारोहको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा वार्षिक खेलकुद कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षक सीता पौडेलले गरेकी थिइन ।