काठमाडौँ/
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकार गएर कांग्रेसका मन्त्रीहरुले उल्लेख्य परिणाम दिन नसकेको भन्दै पार्टीले समुदायमा लैजाने विषय नै नभएको बताएका छन् । शनिबार केन्द्रीय समिति बैठकमा पौडेलले कांग्रेसको समुदायमा कांग्रेस कार्यक्रममा आफूहरु जाँदा जनतालाई बताउने विषय नभएको र नेतृत्वका कारण कांग्रेस प्रतिरक्षात्मक मात्र भएको बताए ।
‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने हो भने ८४ को निर्वाचनमा कांग्रेस पत्तासाफ समेत हुनसक्छ,’ उनले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तिमा म कांग्रेस नेतृत्वलाई डिफेन्स गर्न सक्दिनँ ।’
पौडेलले भौतिक विकासमा नियमित काम मात्र गरेर जनताले सरकारले काम गरेको अनुभूति गर्न नसक्ने बताए । ‘जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार अन्त्य हो,भन्दै आक्रोश व्यक्त गरे ।
उनले नेपालमा भ्रष्टाचार अन्त्यका लागि र सुशासन कायम गर्न आफैंमाथि छानबिन हुने परिस्थिति आफैंले सिर्जना गर्न सक्नुपर्ने पनि बताए । पछिल्लो समय जनताको निराशा बढ्दै गएको र उनीहरु आक्रोशित हुने क्रम बढ्दो रहेको बताए ।