सुचना, समाचार र मनोरन्जन

रुसी सेनामा भर्ती हुन गएका थप ३ जना नेपालीको ज्यान गएको पुष्टि

काठमाडौँ/

रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस जानुभएको थियो । अर्यालको मृत्यु भएको विषय वडा कार्यालय र परिवारलाई सरकारी संयन्त्रले जानकारी गराएको छ । योसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ ।

परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ गतेसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या सात जना पुगेको जनाएको थियो । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

यस्तै रुसी फौजमा भर्ना भएका चार जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको भन्दै उद्धारका लागि परराष्ट्र मन्त्रालयमा गुनासो पुगेको छ । सरकारले नेपालीको रिहाइका लागि युक्रेन सरकारसँग कुराकानीको प्रयास भइरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.