काठमाडौँ/
सरकारले जिल्ला समन्वय समिति (जिसस) को ९ सय २५ दरबन्दीलाई स्वीकृत गर्दै निजामती किताब खानामा दर्ता गरेको छ । ७७ वटै जिल्लामा जिल्ला समन्वय अधिकारीदेखि सवारी चालकसम्मको दरबन्दी स्वीकृत गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिससलाई परिपत्र गर्दै दरबन्दीअनुसार काम गर्न निर्देशित गरेको छ । यसअघि २०७५ पुस ९ मा दरबन्दी सिर्जना भए पनि किताब खानाले अद्यावधिक गत भदौमा गरेको थियो ।
सामान्यका सचिव विनोदप्रकाश सिंहले अद्यावधिक गरिएको दरबन्दी स्वीकृत गरेका छन् । समितिको प्रमुखको निजी सचिवालयमा रहने राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा समितिको कुनै कर्मचारी खटाउन वा करारमा नियुक्त गर्न सकिने जनाइएको छ ।
परिपत्रमा यसरी करारमा नियुक्त गरेको कर्मचारी समिति प्रमुखको पदावधि सकिएको अवस्थामा स्वतः अवकाशमा जाने भनिएको छ ।