सुचना, समाचार र मनोरन्जन

आहा रारा पोखरा गोल्डकप: मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो।

पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समय १-१ को तथा टाइब्रेकरमा‌ ४-४ को बराबरी भएपछि सडन डेथमा जावलाखेल बाजी मारेको हो। दुबै टोलीका ९ खेलाडीले पेनाल्टी हान्दा जावलाखेल ७-६ ले विजयी भयो ।

जावलाखेलका‌ गोलकिपर अनिश देवलाले मनाङका लागि नवौं पेनाल्टी हानेका रन्दिप पौडेलको पेनाल्टी रोक्दै टोलीलाई‌ सेमिफाइनल पुर्याएका हुन् । निर्धारित समयमा जावलाखेलले हिसुब थपलियाको गोलबाट अग्रता लिएको थियो।

खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थपलियाले सुदीप श्रेष्ठबाट प्राप्त पासलाई पेनाल्टी बक्समा हल्का अघि बढाउँदै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मनाङका किपर जियारथ शेखले बल बचाउने कुनै अवसर नै पाएनन् ।

जावलाखेलले अब सेमिफाइनलमा अर्को ए डिभिजन टोली थ्री स्टार क्लबको‌ सामना गर्नेछ। थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा मंगलबार दुई ए डिभिजन टोली विजेता चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।

आहा रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave A Reply

Your email address will not be published.