सुचना, समाचार र मनोरन्जन

सीपमूलक काम र कलाको प्रवर्द्धन हुने गरी संस्कृति ऐन ल्याउँछौँ

काठमाडौँ /

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले दलित समुदायलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने बताएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको ‘दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गेना र आधुनिक सीपशाला निर्माण तथा सीपको संथागत विकास’सम्बन्धमा राज्यको भूमिका विषयक कार्यशालामा शुक्रबार राज्यमन्त्री सिर्पालीले समुदायको सीप र कलाको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले दलित समुदायले गर्दै आएको कलात्मक सीपमूलक कामको विकास गर्नुपर्नेमा जोड दिँदै राज्यका नीति परिवर्तन गरेर भए पनि सीप,कला र ज्ञानलाई उत्पादनमूलक काममा प्रयोग गर्ने मन्त्रालयले काम गरिरहेको जिकिर गरिन ।

कार्यशालामा प्राध्यापक डाक्टर विद्यानाथ कोइराला, प्राध्यापक ईश्वर चन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेस गरेका थिए । तीन वटै कार्यपत्रमा डा। गोविन्द नेपालीले टिप्पणी गरेको मन्त्रालयका संस्कृति महाशाखाका प्रमुख सुरज शरस क्षेष्ठले जानकारी दिए ।

दलित समुदायले गर्दै आएको सीपमूलक काम र कलाको प्रर्बद्धनका लागि राज्यका ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको श्रेष्ठको भनाई थियो ।

संविधानमा दलित समुदायलाई विभेद नगरे पनि सामाजिक विभेदको अन्त्य हुन नसकेको कार्यशालाको निचोड थियो ।

दलित समुदायको आर्थिक स्तर नउठ्दा सम्म उनीहरुका सीप र कलाहरूको समेत व्यावसायिकीकरण हुन नसक्ने भनाई राज्यमन्त्री सिर्पालीको छ ।

कार्यशालामा सहभागिहरुले संघीयता आएको लामो समय सम्म पनि दलितहरू माथि हुने विभेद कम नभएको भन्दै राज्यले यसलाई गम्भीरताका साथ लिनुपर्ने आवाज उठाए ।

Leave A Reply

Your email address will not be published.