सुचना, समाचार र मनोरन्जन

आजबाट संघीय संसदको हिउँदे अधिवेशन

काठमाडौं /

संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठक दिउँसो ४ बजेबाट सुरू हुनेछ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन्।

सोपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयनको निर्णय सुनाउने कार्यसूचीमा उल्लेख गरिएको छ।

यसैगरी, पहिलो बिधेयकको रूपमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसुचीमा उल्लेख गरिएको छ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व {पहिलो संशोधन} अध्यादेश, २०८०’ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यबहाक महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

विधेयक अधिवेशनकारुपमा रहने यस हिँउदे अधिवेशनका लागि हाल संघीय संसद्मा २४ विधेयक छन्। त्यसमध्ये १६ विषयगत समिति छन्। हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ। एउटा भने छलफल पुरा भई प्रतिवेदन निर्माणको चरणमा छ। एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ।

जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाकारुपमा रहने संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ। संघीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो।

संसद्मा जनप्रतिनिधिले निर्वाचन क्षेत्र, जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आकस्मिक, शून्य समय र विशेष समय मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चलन छ।

सो क्रममा कतिपय अवस्थामा सांसदले सरकारका काम कारबाहीलाई प्रभावकारी तुल्याउन सार्वजनिक महत्व, जरुरी, सार्वजनिक, स्थगन, संकल्प, संशोधन, खर्च कटौतीजस्ता प्रस्ताव प्रस्तुत गरी छलफल गराउने परम्परा छ।

यस अधिवेशनको सौन्दर्यकारुपमा प्री बजेट छलफलसमेत हुने सहायक प्रवक्ता धमलाले जानकारी दिए। सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै उक्त कार्य सम्पन्न गर्न अध्यादेश जारी गरिसकेको छ। उक्त अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्री बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ।

अघिल्ला अधिवेशनमा प्री बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो। त्यस बेला सांसदले दिएका सुझाव र उठेका प्रश्नका आधारमा सरकारले यस पटक प्री बजेट छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो।

अहिले प्रतिनिधिसभामा नेपाली काग्रेसका ८८, नेकपा {एमाले}का सभामुुखसहित ७८, नेकपा {माओवादी केन्द्र} का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभामुखसहित २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपाल {जसपा} का १२, नेकपा {एकिकृत समाजवादी} का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका चार सांसदको प्रतिनिधित्व छ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीका एक(एक तथा दुई स्वतन्त्र सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ । भूगोल र जनसङ्ख्याका आधारमा कायम गरिएको निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीद्वारा निर्वाचित एक सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित एक सय १० समेत गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय रहने संवैधानिक व्यवस्था छ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभा भने प्रदेशगतरुपमा निर्वाचित भएर आउने ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत हुन तीन जना रहने व्यवस्था छ। हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेस’ र सदनका गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ।

Leave A Reply

Your email address will not be published.