सुचना, समाचार र मनोरन्जन

चलचित्र ‘महाजात्रा’: हलबाट फर्किंदा दर्शकले मनोरञ्जनसँगै गहिरो सन्देश लिन्छन्- निर्देशक भट्टराई

चलचित्र पत्रकार संघ कास्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मको उद्देश्य मनोरञ्जन दिने भएको भन्दै ‘महाजात्रा’ हेरेर हलबाट फर्किंदा दर्शकले मनोरञ्जनसँगै गहिरो सन्देश लिने बताए।

पोखरा /

चलचित्र ‘महाजात्रा’ आउँदो चैत ९ गते देश तथा विदेशमा एकै साथ प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’ को यो सिक्वेल आगामी चैत ९ गतेदेखि रिलिज हुँदैछ।

चलचित्र पत्रकार संघ कास्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मको उद्देश्य मनोरञ्जन दिने भएको भन्दै ‘महाजात्रा’ हेरेर हलबाट फर्किंदा दर्शकले मनोरञ्जनसँगै गहिरो सन्देश लिने बताए।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘महाजात्रा’मा आफूले इन्ट्री पाएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘षट्कोणभित्र मलाई पनि छिराउनुभयो। राम्रो अवसर पाएँ। प्रमुख भूमिकामध्ये एउटा भूमिकाको जिम्मा लगाउनुभएको छ।’ उनले यो वर्षको राम्रो चलचित्रमा ‘महाजात्रा’ पर्ने दाबी गरे।

 

फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले फिल्म बनाउँदाको समयमानै नाफामा गैसकेको बताए । फिल्मको लगानीको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले अब अर्को फिल्म बनाउने पैसा जुटाउन बाँकी रहेको सुनाए । हामी फिल्म बनाउँदाखेरी नै नाफामा गैसकेका छौ, ढुक्क छौ । अब दर्शकको माया पाउन र अर्को फिल्म बनाउने पैसा जुटाउन बाँकी छ ।’पत्रकार माझ पोखराको बारेमा तारिफ गरेका उनले फिल्मको भव्य प्रिमियर सो पोखरामा आयोजना गर्ने समेत खुलाए ।

हाँस्य कलाकार राजाराम पौडेलले महाजात्रा फिल्मको ट्रेलर रिलिज भएपश्चात राम्रो प्रतिक्रिया आएकोले सबैजना फिल्म चल्नेमा विश्वस्त भएको सुनाए ।

अभिनेत्री वर्षा राउतले फिल्म राम्रो बनेको बताइन्। कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले अघिल्लो फिल्म ‘जात्रैजात्रा’ को क्लाइमेक्स पोखराकै फेवातालमा खिचिएको स्मरण गर्दै यो फिल्मलाई पनि दर्शकले रुचाउनेमा आशावादी भएको बताए।

चैत ७ वा ८ गते पोखरामै ‘महाजात्रा’को प्रिमियर तयारी भएको उनले जानकारी दिए। उनले फिल्म निर्माणमा ३ करोड ३८ लाख खर्च भइसकेको बताए। निर्मातामध्येका एक म्याक्स दीपेश खत्रीले दर्शकले फिल्म रुचाउनेमा आशावादी रहेको बताए।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, राजाराम पौडेलसहित विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्यदेवलगायतको अभिनय छ। षट्कोण आर्टस्को यो फिल्ममा निर्माता म्याक्स दीपेश खत्रीसहित यज्ञश्वर पौडेल पनि हुन्।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.