काठमाडौं /
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गरेका छन्।
शनिबार सिंहदरबारमा संसदका प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरेका हुन्।
त्यस्तै राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको उनले बताए।छलफलपछि कांग्रेस सचेतक सुशिला थिङले चैत्र १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको जानकारी दिए।
उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका बिषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने बिषयमा निष्कर्षमा पुगिने जानकारी दिए। गृहमन्त्रीमा बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनको भनाइ छ ।
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताए। समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने लगाएतका बिषयमा छलफल भएको उनले बताए।
त्यस्तै एमाले मुख्य सचेतक महेश बर्तौलाले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको जानकारी दिए। उनले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताए। बर्तौलाले कांग्रेसले उठाएको बिषयमा प्रधानमन्त्री जवाफ दिइसकेकाले राजनीतिक पूर्वाग्रह राख्न नहुने धारणा राखे।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले जवाफ दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताए। उनले संसदको आगामी बैठक सहज ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
परियारले कार्यतालिका अनुसार संसदलाई अघि बढाउने बिषयमा छलफल गरेको र राजनीति संवादका आधारमा अघि बढ्ने पनि बताए। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसदमा निरन्तर विरोध गर्दै आएको छ ।