सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभा : पूर्वाधार निर्माणमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण

काठमाडौं /

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सदनलाई नागरिकका समस्या सुनुवाईलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा पौडेलले कतिपय कानूनहरु अड्केर बसेको भन्दै सदनलाई नागरिकका समस्या सुनुवाईलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्।

उनले संक्रमणकालीन न्यायसम्बन्धी कानून, वन ऐन शिक्षा लगाएतका कानून छिटो भन्दा छिटो अघि बढाउनुपर्ने भन्दै यसलाई बार्गेनिङको माध्यम बनाउन नहुने बताए। संसदको विधायिकी भूमिका कमजोर भएको बताउँदै उनले कानून निर्माणका कामलाई सरकार र सदनले गम्भीरताका साथ अघि बढाउनुपर्ने बताए।

अहिले मुलुकको आर्थिक सूचकांक राम्रो भनिएपनि नागरिकलाई भने त्यसको आभास हुन नसकेको सांसद पौडेलले बताए। नागरिकमा मौलिक अधिकार कार्यान्वयनका लागि गर्नुपर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।

त्यस्तै एमाले सांसद रघुजी पन्तले नेपालमा ठूलो संख्यामा भारतीय मालवाहक सवारी साधन भित्रिरहेकोमा त्यसले नेपालभित्रका ढुवानी व्यवसायी समस्यामा परेको बताए। बढी वजनका भारतीय सवारीका कारण नेपालका सडकमा पनि क्षति पुर्‍याइरहेको उनले बताए। नेपाली ट्रक सामान बोकेर भारत जान नपाइने व्यवस्था रहेको तर भारतीय ट्रकले नेपालमा वर्चस्व कायम गर्दै गएको उनको भनाइ छ।

त्यस्तै सांसद डा तोसिमा कार्कीले वीर अस्पतालका समस्या समाधानका लागि सरकारसँग आग्रह गरिन्। वीर अस्पतालमा न्यून जनशक्ति रहेको, बिरामीको अपरेसनका लागि महिनौ कुर्नुपर्ने अवस्था रहेको, आइसियु बेड नपाउनेलगायतका समस्या रहेको कार्कीको भनाइ छ।

त्यस्तै कांग्रेस सांसद रमा कोइराला पौड्यालले रुस र युक्रेनी सेनामा भर्ती भएका नेपाली युवालाई स्वदेश फिर्ताका लागि सरकारले पहल गर्न माग गरिन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र छपाइलगायतका आर्थिक अनियमितताका विषयमा गम्भीर छानबिनको माग गरे।

Leave A Reply

Your email address will not be published.