सुचना, समाचार र मनोरन्जन
Sarangi

पहिरोका कारण बेसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ/

पहिरोले बेसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडक खण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिरोले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, ुयस सडकअन्तर्गत बेसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ मा रहेको तीन ठाउँमा पहिरो गएको छ ।ु यो पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उहाँको भनाइ छ ।

यी ठाउँमा ठूला–ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ । सडक अवरुद्ध भएसँगै गाडी सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गएको आइतवारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो ।

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ । सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् ।

६५ किलोमिटरको यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ।

Leave A Reply

Your email address will not be published.