काठमाडौं /
हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
बायोकोस नेपाल र एन्ट फाउण्डेशनको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा उक्त मैत्रीपूर्ण फुटबल खेल खेल्न लागिएको आज यहाँ आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्थानीयवासीले मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर बारेमा सूचीत गर्ने र पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त खेल हुन लागेको आयोजकले जनाएको छ ।
हिमालको काखमा रमाएर बस्ने हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्ने मात्र होइन यसको बासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि हो ।
यही भदौ २५ देखि २७ गतेसम्म मनाङको तिमाङ, पिसाङ र मुङ्जीमा अवस्थित फुटबल मैदानहरूमा खेल हुने एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले जानकारी दिए ।
सेलिब्रेटी टिम हिमालयन स्नो लेपर्ड {राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरू, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू} र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक {स्थानीय युवाहरू} बीच खेल हुनेछ ।
मैत्रीपूर्ण फुटबल खेल यही भदौ २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङ्जी ब्राकामा अवस्थित फुटबल मैदानमा आयोजना गर्न लागिएको अर्को आयोजक संस्था बायोकोस नेपालका इकोलोजिष्ट पारसविक्रम सिंहले जानकारी दिए ।
टिम हिमालयन स्नो लेपर्डमा कालाकार {प्रशान्त ताम्राकार, आँचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान}, खेलाडी {हरि खड्का, अनिल गरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह}, मिस नेपाल वल्र्ड सृचा प्रधान, मिस्टर नेपाल समरपन कार्की, मिस युनिभर्स नेपाल सोफिया भुजेल र प्रिस्का उदास उद्घोषक रहनेछन् ।
हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउनका लागि मैत्रीपूर्ण फुटबल खेल, स्थानीय आमा समूह, युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन, मनाङसम्मको रमणीय यात्रा र विभिन्न उचाइमा रहेका फुटबलका खेल मैदान, हिउँ चितुवा बासस्थानको भ्रमण र अन्तरक्रिया कार्यक्रमका आकर्षण रहेका छन् ।