सुचना, समाचार र मनोरन्जन

डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषा द्वालाई

पोखरा/

डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई अर्पण गर्ने भएको छ ।

प्रतिष्ठानको हालै सम्पन्न बैठकले कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

आफूलाई युवा वैज्ञानिकका रूपमा स्थापित गराउन लामो समय संघर्षरत मनिषा हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक रहेकी छन् ।

नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक, परियोजना संयोजकसमेत रहेकी द्वासँग शिक्षणको अनुभवसमेत छ । स्वतन्त्र फोटो पत्रकारको छवि बनाएकी द्वा अन्नपूर्ण आर्चरी क्लबकी सदस्य पनि हुन् ।

उनले विज्ञान प्रविधिका क्षेत्रमा विकासका लागि खगोल (ओएडी) सँगको सहकार्यमा नेपालमा समाज सशक्तिकरणका लागि खगोल विज्ञान अन्तर्गत ३६ स्कुलमा विभिन्न प्राजेक्टको सफल सञ्चालनसमेत गरिसकेकी छन् ।

Chaka Panja

द्वा यस अघि विज्ञान प्रविधिका क्षेत्रमा इमर्जिङ स्पेस लिडर्स सन् २०१६, विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार सन् २०२१ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छन् ।

उनी जोन्टा क्लब अफ काठमाडौंले विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान छात्रालाई प्रोत्साहनका लागि अन्तरिक्षमा महिला उद्घोषका साथ सञ्चालन गर्दै आएको इन्द्रकला छात्रवृत्ति सन् २०२१ समेत प्राप्त गर्न सफल प्रतिभा हुन् ।

मनिषाले नेपाल, भारत, चाइना, रोमानिया, इन्डोनेसिया, अमेरिका, मेक्सिको, दुबई, थाइल्याण्ड, अष्ट्रिया, जर्मनी, हङ्गेरीलगायतका देशमा सम्पन्न दुई दर्जन बढी सेमिनारमा सहभागी तथा आफ्नो प्रस्तुति राखेकी छन् ।

गण्डकी बोर्डिङ स्कुल लामाचौरबाट विज्ञानमा प्लस टु गरेकी द्वा पृथ्वीनारायण क्याम्पस पोखराबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरी सोही विषयमा त्रिभवुन विश्वविद्यालयमा विद्यावारिधि अनुसन्धानरत छन् ।

प्रतिष्ठानले वार्षिक साधारण सभाको सन्दर्भ पारेर अर्पण गर्ने उक्त पुरस्कार यस अघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ पुरस्कृत भइसकेका छन् ।

नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा अर्पण गरिने पुरस्कारको राशि १० हजार पाँच सय नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।

पुरस्कार असोज ३ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.