सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरामा कृषि जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

स्थानीयदेखि विश्वव्यापी वन तथा कृषि उत्पादक संस्थाका प्रतिनिधिहरू, सरकारी प्रतिनिधिहरू, अन्वेषक आदि सहभागी सम्मेलनमा विभिन्न २० देशका ७३ जना विदेशी र एक सय भन्दा बढी नेपाली प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पोखरा /

गण्डकी प्रदेशको राजधानी पोखरामा आजदेखि कृषि जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनमा विभिन्न २० देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीयदेखि विश्वव्यापी वन तथा कृषि उत्पादक संस्थाका प्रतिनिधिहरू, सरकारी प्रतिनिधिहरू, अन्वेषक आदि सहभागी सम्मेलनमा विभिन्न २० देशका ७३ जना विदेशी र एक सय भन्दा बढी नेपाली प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

विभिन्न छवटा सत्रमा हुने छलफल एवम् अन्तरक्रियामा सहभागीहरूले कृषि जैविक विविधतालाई दिगो बनाउनका लागि देखिएका चुनौति, उत्कृष्ट अभ्यास आदि बारे छलफल गर्नेछन् ।

सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुदीले जैविक विविधताको संरक्षण नेपालको प्राथमिकतामा रहेको बताए ।

उनले जैविक विविधताका क्षेत्रमा देखिएका समस्याहरूको चुनौती समान गर्दै विभिन्न कार्यक्रमका साथ अघि बढीएको बताए । जैविक विविधताको संरक्षणका लागि सरोकारवालाबीचको समन्वय जरुरी रहेको उनको भनाइ छ ।

कृषि तथा पशुपंक्षि विकास मन्त्री ज्वाला कुमारी साहले कृषि जैविक विविधता अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न तवरले प्रयास गरिरहेको बताए। स्वदेशी बाली संरक्षण, दिगो खेती प्रवर्द्धन र परम्परागत कृषि ज्ञानको संरक्षण गर्न स्थानीय समुदाय लक्षित कार्यक्रममा जोड दिइएको बताए ।

IVF Big

एफएओका नेपाल तथा भुटानका प्रतिनिधि केन शिमिजुले कृषि जैविक विविधतामा एफएओको समर्पण र कृषि विविधतालाई प्रवर्द्धन गर्न नेपालजस्ता राष्ट्रहरूलाई सहयोग गर्ने कुरामा जोड दिए ।

कृषि जैविक विविधता संरक्षण र उपयोगलाई बढावा दिने लगायतका काममा भैरहेका प्रयास बारे उनले प्रकाश पारे । स्थानीय र विश्वव्यापी रूपमा कृषि जैविक विविधता बढाउन साना किसानहरू, आदिवासी समूहहरू र स्थानीय समुदायहरूलाई दिगो वन र खेत व्यवस्थापनमा सशक्त बनाउन साझेदारहरूसँगको सहकार्यबारे उनले चर्चा गरे।

सामुदायिक बन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले समुदायमा आधारित संरक्षण पहल मार्फत कृषि जैविक विविधता प्रवर्द्धन गर्न महासंघ कृयाशिल रहेको बताए । महासंघले किसानहरूसँग नजिकबाट काम गरेको उनको भनाइ छ ।

सम्मेलनमा कृषि जैविक विविधता एवम् यसको महत्व, कृषि जैविक विविधतालाई राम्रो वा नराम्रोको लागि संरक्षण र व्यवस्थापन गर्न नीतिहरू पारेको सहयोग, कृषि वन प्रणालीको परम्परागत ज्ञान र कृषि जैविक विविधता कायम राख्ने ज्ञान र असल अभ्यास आदान प्रदान, बीउ र खेती व्यवस्थापन प्रविधिहरू, उद्यमी आविष्कार लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

विभिन्न छवटा सत्रमा हुने छलफल एवम् अन्तरक्रियामा सहभागीहरूले कृषि जैविक विविधतालाई दिगो बनाउनका लागि देखिएका चुनौति, उत्कृष्ट अभ्यास आदि बारे छलफल गर्नेछन् । साना वन र कृषि उत्पादकहरूको कृषि जैविक विविधतामा योगदानका साथै उनीहरूले कसरी आफ्ना स्रोतहरू दिगो रूपमा व्यवस्थापन र व्यावसायिक उपयोग गरिरहेका सम्बन्धमा पनि सम्मेलनमा छलफल गरिने छ ।

कार्यक्रमकै क्रममा पोखरामा कृषि जैविक विविधता व्यवस्थापनका नवीन उदाहरणहरू खोज्दै क्षेत्र सहभागीलाई अध्ययन भ्रमण समेत गराइने आयोजकले जनाएको छ ।

सम्मेलनको क्रममा प्रारम्भ गरिएका सहयोगी प्रयासहरूले दिगो भविष्यको लागि मार्ग प्रशस्त गर्ने र कृषि जैविक विविधता संरक्षणले प्रकृति संरक्षण, जीविकोपार्जन र विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.