सुचना, समाचार र मनोरन्जन

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस: राष्ट्रपति पौडेल

काठमाडौं /

राष्ट्रपति रामचन्द्र पौडेलले इद {इद-उल-फित्र} पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

Chaka Panja

“सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ। यस पर्वको माध्यमबाट भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले इद पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ।

Leave A Reply

Your email address will not be published.