सुचना, समाचार र मनोरन्जन

उपनिर्वाचनले दिएको सन्देश: एमाले निर्विकल्प वामशक्ति

काठमाडौं /

शनिबार सम्पन्न इलाम २ र सुदूरपश्चिम प्रदेशसभातर्फको बझाङमा भएको उपनिर्वाचनको मत परिणाम आइसकेको छ। दुवैतर्फ एमालेका उम्मेदवार निर्वाचित भए। यो उपनिर्वाचनको मतपरिणामले निकै ठूलो सन्देश दिएको नेताहरुले बताइरहेका छन्।

पछिल्लो परिणामले नेपाली राजनीतिमा एमाले निर्विकल्प वाम शक्तिको रुपमा आफूलाई उभ्याउन सफल भएको छ। गत २०७९ मंसिर ४ को निर्वाचनमा इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको निधन पछि त्यहाँ उनकै छोरा सुहाङ नै उम्मेदवार बनेका थिए।

उनले यसअघि आफ्नै बुबासँग झिनो मतले पराजित कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई भारी मतले पराजित गरेका छन्। गत निर्वाचनमा १३३ मतले पिताले विजय हासिल गरेको उक्त क्षेत्रमा ५ हजार ८३० मतले पराजित गर्न पुगे।

उता बझाङमा पनि एमालेका दमनबहादुर भण्डारीले जित हात पारेका छन्। उनले यस अघि सोही क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका स्वर्गीय पुथ्बीबहादुर सिंहका छोरा अभिषेक सिंहलाई २६६ मतान्तरले पराजित गर्न पुगे।

गत निर्वाचनमा उनका पिताले एमालेका उम्मेदवारलाई ३ हजार ३६९ मतले पराजित गरेका थिए। बझाङमा सुदूरपश्चिम प्रदेशसभा १ तर्फ निर्वाचित भएका अभिषेकका पिता सवारी दुर्घटनामा परेर निधन भएको थियो।

प्रतिनिधि सभातर्फ इलाम २ मा एमालेका उम्मेदवार सुहाङले आफ्नो पिताको विरासत जोगाउन सफल हुँदा बझाङमा भने अभिषेकले गत निर्वाचनमा निर्वाचित भएका पिताको विरासत जोगाउन सकेनन्।

यसले एमालेजन निकै हौसिँदै उनीहरुले मतपरिणामसँगै निकै अर्थपूर्ण सन्देश दिएको सार्वजनिक रुपमा बताइरहेका छन्। एमाले महासचिव शंकर पोख्रेलले सुहाङलाई बधाई दिँदै सन्देशमुलक जितका लागि बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमा सोही कुरा उल्लेख गर्दै बधाई दिएका छन्।

एमालेमा वैचारिक नेताका रुपमा मानिने महासचिव पोखरेलले विगतदेखि नेपालमा दुई दलीय आवश्यकताको वकालत गर्दै आइरहेका छन्। अहिलेको राजनीतिक अस्थिरता अन्त्य गरेर स्थायित्व कायम गर्न दुई दलीय प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याइरहेका छन्।

पछिल्लो निर्वाचनको मत परिणामले महासचिव पोखरेलले उठाएको विषयलाई थप मजबुद बनाएको छ। राष्ट्रिय राजनीतिमा पुराना भनिएका दलको विकल्प शक्तिका रुपमा उदाएको इलाम २ मा अत्यन्त चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जमानत जफत हुन पुगेको छ।

दुवै निर्वाचन क्षेत्र आफ्नो पोल्टामा पार्न सफल भएको एमाले, रास्वपाको पराजय र इलाम २ मा आफ्नै उत्तराधिकारी विजयी हुँदा बझाङमा भने पराजित हुन्ुले केही गम्भीर संकेत भने गरेको छ।

यसले एमालेको जनमत जनतामा यथावत रहेको देखाएको छ भने कांग्रेसले प्रदेशसभातर्फको आफ्नो एक सिट गुमाउन पुगको छ। नेपालको संसदीय अभ्यासमा एमालेले तय गरेको शान्तिपूर्ण प्रतिस्पर्धाको नीतिमा सफल भएको छ।

२०४९मा भएको एमालेको पाँचौं महाधिवेशनदेखि अंगीकार गरेको जनताको बहुदलीय जनवाद {जवज}ले शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने लक्ष्य लिएको छ। सोही अनुरुप संसदीय राजनीतिमा आफूलाई स्थापित गर्न एमाले सफल भएको छ।

यद्यपि यसलाई कतिपय कम्युनिष्ट पार्टीहरुले संसदीय व्यवस्थाको आहालमा डुबेको भन्दे गैर कम्युनिष्ट सिद्धान्तका रुपमा औंल्याउँछन्। विश्वभर कम्युनिष्ट पार्टीहरु रक्षात्मक बन्दै गरेको अवस्थामा तत्कालीन एमाले महासचिव मदन भण्डारीको नेतृत्वमा पारित गरिएको जबजलाई अहिले पनि एमालेले आफ्नो पथप्रदर्शक सिद्धान्तका रुपमा अंगीकार गर्दै आइरहेको छ।

नेपालको संसदीय राजनीतिको विरुद्धमा सशस्त्र संघर्ष गरेको माओवादी पनि संसदीय अंकगाणितको खेलमा सामेल छ। संसदीय राजनीतिको विरुद्धमा विद्रोह गरेको माओवादीले अहिले आफूलाई संसदीय राजनीतिमा अभ्यस्त गराइसकेको छ।

तथापि संसदीय शक्तिका रुपमा भने निरन्तर कमजोर बन्दै गएको दृष्टान्त विगतदेखि हालसम्मका निर्वाचन परिणामबाट देखिएको छ। एमालेको बाटो पछ्याएको माओवादी संसदीय राजनीतिमा कमजोर बनेर उम्मेदवारी समेत दिन नसक्ने अवस्था पुगेको छ।

यता एमाले भने एक्लै पाँच दलीय गठबन्धनको सामना गर्दै गत निर्वाचनबाट समानुपातिक तर्फ ठूलो दलको हैसियत कायम गराउन सफल भएको छ। आन्तरिक विभाजन र मु्लुकका समकालीन दलको एमाले विरुद्ध मोर्चाबन्दीका बाबजुद गत निर्वाचनमा आफूलाई निर्विकल्प वामशक्तिका रुपमा स्थापित गरेको थियो।

अहिले फेरि नयाँ दलको उभार र पुराना दलप्रति निमाण गरिएको नकारात्मक भाष्यलाई चिर्दै एमालेले बलियो वामशक्तिका रुपमा आफूलाई उपनिर्वाचनको मतपरिणामबाट पुर्नपुष्टि गरेको छ।

Leave A Reply

Your email address will not be published.