सुचना, समाचार र मनोरन्जन

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तक छनोट

काठमाडौं/

२०८० सालको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ वटा कृतिको सूची सार्वजनिक गरेको छ ।

शनिबार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति जारी गरी २०८० सालमा प्रकाशितमध्ये १८६ पुस्तक प्राप्त भएकामा पुरस्कार चयन समितिले पहिलो चरणमा १५ वटा पुस्तकको सूची दिएको जानकारी दिए ।

Chaka Panja

प्रतिष्ठानले सार्वजनिक गरेका १५ पुस्तकमा विष्णु सापकोटाको उपन्यास अडिएका पाइला, कृष्ण गौतमको उपन्यास अद्वैत, सानु शर्माको कथा संग्रह अर्को देशमा, रोशन शेरचनको निबन्ध संग्रह गल्ली संसार, भानु बोखिमको उपन्यास गोधूलि गीत, विश्व कुइँकेलको उपन्यास गोपीचा र कुमार नगरकोटीको संस्मरण जोगियाना रहेका छन् ।

त्यस्तै चिरञ्जीवी वाग्लेको उपन्यास बहादुर शाह, सुमिनाको कविता संग्रह बागी स्त्रीको आत्मकथा, राजेन्द्रमान डंगोलको नियात्रा बादलडाँडा, अखण्ड भण्डारीको उपन्यास बोरा, गोविन्द कुसुमको उपन्यास भृकुटी, गोपी सापकोटाको संस्मरण लण्डन अनप्लग्ड, अरुण गुप्तोको निबन्ध संग्रह संस्कृति चिन्तन र भुवनहरि सिग्देलको जीवनाख्यान साखेजुङको उकालो पनि १५ पुस्तकको सूचीमा परेका छन् ।

यो सूचीबाट अर्को महिना पाँचवटा उत्कृष्ट संक्षिप्त सूची चयन गरिने अध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई लाख रुपैयाँ राशीको पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण हुने गर्दछ ।

 

Leave A Reply

Your email address will not be published.