सुचना, समाचार र मनोरन्जन

जंगली जनावर  रोक्न झापाका वनमा फलफूल रोपिए

झापा/

पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।

सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए ।

जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।

जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनले बताए । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।

दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए ।

Leave A Reply

Your email address will not be published.