पोखरा /
पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरी अधिकारीले बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए । सहभागी विद्यार्थी कुसुम गुरुङले नमुना पत्रकार सम्मेलनबाट नयाँ सिकाइको अनुभव लिएको सुनाइन् । उनले भनिन्, ‘पोखराका अग्रज पत्रकारसँग भलाकुसारी गर्न पाउँदा सार्है खुसी लागेको छ र कार्यक्रमले सिकाइमा थप उर्जा दिने आशा लिएकी छु ।’
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।