पोखरा/
पोखरा–१२ ले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले सबै विद्यालयमा संस्कार शिक्षालाई अनिवार्य गर्ने गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न माग गरेका छन । पोखरा–१२ का डिराराम लामिछानेले भने, ‘समाज, संस्कृति, रहनसहनलाई कसरी जीवनोपयोगी बनाउने, संस्कार के हो र यसको महत्व बुझाउने गरी पाठ्यक्रमको विकास गरौं र सबै विद्यालयमा अनिवार्य गरौं ।’
वडाध्यक्ष बास्तोलाले सबै सामुदायिक विद्यालयमा अहिले संस्कार शिक्षा पढाउन थालिएको र क्रमशः सबै निजी विद्यालयमा पनि पठनपाठन हुने बताए । नागरिकसँग प्रत्यक्ष जोडिएको शिक्षा र स्वास्थ्यलाई वडाको तहबाट सुधार्ने अभियानमा आफू रहेको बास्तोलाले सुनाए ।
पोखरा–१२ मा स्थायी रूपमा बसोबास गर्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको बास्तोलाले सुनाए । अमरसिंह मावि अन्तर्गतको जग्गा सस्तो मूल्यमा भाडामा दिइएकोमा खारेज गरेर सार्वजनिक जग्गा संरक्षणको प्रयत्न भइरहेको उनले बताए ।
मणिपाल शिक्षण, फिस्टेल अस्पतालसँग सम्झौता गरी डाक्टर शुल्क, उपचार खर्च र औषधिमा सहुलियत दिने प्रबन्ध मिलाएको बास्तोलाको भनाइ छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले पोखरा–१२ मा सबैभन्दा बढी नहर र बाढीको समस्या रहेको सुनाए ।
नहरको जग्गा अतिक्रमण भएको, नहरमा फालिएको फोहोरले दुर्गन्ध फैलिएको, काहुँबाटसमेत आउने बाढीले सितलादेवी क्षेत्र डुबानमा पर्ने गरेको, ढल नियन्त्रण नभएकोजस्ता गुनासो नागरिकको थियो ।
अपांगमैत्री संरचना निर्माणमा जोड दिन वडासँग स्थानीयको माग थियो । वडाले बनाउने समिति, उपसमितिमा विज्ञताका आधारमा छनोट गरेर बनाउन स्थानीय इन्दिरा पन्तले आग्रह गरिन् । गणेश तिमिल्सिनाले विपन्न र गरिब परिवारलाई जिविकोपार्जनमा जोड्न आग्रह गरे ।
वडा सचिव महेश्वर अर्यालले वडा तहबाट गरिने विकासले वडाबासीको ससाना आवश्यकता पूरा गर्ने तथा सीप, ज्ञानको विकास र रोजगारीमा जोड दिइएको बताए । डा. अनिल सुवेदीले भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास सम्झिन नहुने बताए । अबको लगानी सामाजिक तथा मानवीय विकासमा गर्नुपर्ने सुवेदीको भनाइ थियो ।